• १२ साउन २०८१, शनिबार

विद्यालय सार्ने विवाद,दिनप्रतिदिन विद्यार्थी घट्दै

blog

ललित बसेल

सुर्खेत, वैशाख २९ गते ।  पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलाको मुङ्ग्रेमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन डेढ वर्षअघिको पहिरोका कारण चिरा चिरा परेको छ । कक्षाकोठा पहिरोले चर्किएपछि दुर्घटना हुन सक्ने जोखिमले कर्णाली प्रदेश सरकारले नयाँ भवन बनाउन बजेट पनि दियो तर विद्यालय सार्ने विषयमा विवाद हुँदा बजेट फिर्ता जाने सम्भावना बढ्नुका साथै विद्यार्थी पनि घट्दै गएका छन् । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत चारकोठे भवनका लागि ५० लाख रुपियाँ दिएको छ तर कमजोर भूगोलका कारण सोही स्थानमा भवन बनाउन सम्भव नभएको सुझाव प्राविधिकले दिएका छन् । विद्यालय सार्ने कि नसार्ने भन्ने विषयमा अभिभावकबिच सहमति नहुँदा नयाँ भवन निर्माणको काम अन्योलमा पुगेको छ । प्राविधिकको सुझावलाई बेवास्ता गर्दै केही अभिभावक र सिम्ता गाउँपालिकाले जोखिमयुक्त भए पनि केही भाग खोस्रेर अहिलेकै स्थानमा बनाउने र भत्केबिग्रेमा सिम्ता गाउँपालिकाले बेहोर्ने गरी गत फागुन १३ गते सहमति गरेका थिए तर हालसम्म काम हुन सकेको छैन । 

भवन निर्माणका लागि पर्याप्त जग्गा नभएको र अनुदान रकमले भवन मात्र निर्माण गर्नुपर्ने बाध्यता हुँदा भवनका लागि फिल्ड बनाउने कामको खर्च विद्यालय तथा अभिभावक आफँैले बेहोर्नुपर्ने छ । त्यसका लागि भोटेचुली सामुदायिक वन समूहले कोषमा रहेको छ लाख रुपियाँ दिने र अपुग भएमा सामुदायिक वनका अध्यक्ष टीकाराम पुनले व्यक्तिगत रूपमा थप दुई लाख दिने सहमति पनि भएको थियो तर अहिलेसम्म त्यसका लागि कुनै स्रोत सङ्कलन नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर वलीले बताउनुभयो । पहिलेकै स्थानमा भवन बनाउन पुरानो भवनको जस्तापाता झिकिएको छ तर भवन बनाउन अन्योल भएपछि विद्यार्थीलाई चौरमा राखेर पढाउनु परेको अध्यक्ष वलीले बताउनुभयो । प्रतिबद्धता गरिए अनुसारको स्रोत नजुटेपछि भवन बनाउने रकम फिर्ता जान सक्ने चिन्ता थपिएको र विद्यार्थी सङ्ख्या पनि घट्दै गएको उहाँले जनाउनुभयो । अभिभावकले विद्यालय अन्यत्र सार्न नमान्दा यस्तो अवस्था आएको उहाँको भनाइ छ । 

शिक्षा विकास निर्देशनालयका प्राविधिक शेरबहादुर महताराले पुरानै ठाउँमै नयाँ भवन बनाउन नसकिने सुझाव दिइएको बताउनुभयो । उहाँले पुरानै ठाउँको भूगोल निकै कमजोर भएकाले स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । सिम्ता गाउँपालिकाले भने अभिभावक र विद्यालय व्यवस्थापन समितिको चासो नहुँदा नयाँ भवन बन्न नसकेको आरोप लगाएको छ । गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले अभिभावक र विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकबिच नै भवन बनाउने विषयमा सहमति हुन नसक्दा पालिकाले काम अगाडि बढाउन नसकेको बताउनुभयो । सरोकारवालाबिच सहमति भएमा भवन निर्माणको काम तत्काल अगाडि बढ्ने उहाँको भनाइ छ । 

नयाँ भवन निर्माणको विषय एकले अर्कोलाई देखाउँदा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कक्षा ५ सम्म सञ्चालन भएको सो विद्यालयमा अघिल्लो वर्ष ४५ जना विद्यार्थी थिए । अहिले यही अन्योलको अवस्थाले अभिभावकले आफ्ना सन्तानलाई अन्यत्रै लगेका छन् । अहिले १८ जना मात्रै विद्यार्थी छन् ।