टीकापुर समाचारदाता
टीकापुर, वैशाख २८ गते । कैलालीको जोशीपुर गाउँपालिका–४, डहरबेरियास्थित पथरैया नदीमा मुहान रहेको वाणी जल कुलो उपभोक्ता समितिका नाममा ऋण रहेको तर धनसम्पत्ति केही नरहेको भेटिएको छ ।
समितिका अध्यक्ष डम्बरबहादुर परियार, सचिव खड्कबहादुर चौधरी र कोषाध्यक्ष पवन चौधरीले २०६६ सालमा पक्की बाँध क्षेत्रमा जग्गा किन्न तत्कालीन जोशीपुर, थापापुर गाविसलगायत १६ गाउँका किसानबाट ३४ लाख रुपियाँ उठाएको बताइन्छ । स्थानीय किसानबाट सङ्कलित कर र ऋण गरी यत्तिको रकम उठाए पनि जग्गा खरिद गरेको भने भेटिएको छैन । विगत १२ वर्षदेखि समितिले साधारण सभा पनि गरेको छैन ।
समितिका पदाधिकारीहरूले यसरी सङ्कलित रकमले मुहाननजिक परशु चौधरीलगायत पाँच जनाबाट ४४ कट्ठा जग्गा किन्न १६ लाख ९४ हजार र कार्यालय भवन बनाउन नरबहादुर र वमबहादुर रावलको २९ कट्ठा जग्गा १७ लाख ११ हजार रुपियाँमा खरिद गरेको खर्च विवरण देखाएका छन् ।
उक्त रकम तत्कालीन जोशीपुर गाविसका वडा १ र ४, भजनी नगरपालिकाको वडा नं. ६ र ८ का १६ वटाका किसानबाट उठेको १८ लाख ७८ हजार ७३९ रुपियाँ, कुलो समितिका सदस्य कुशबहादुर चौधरीको एक बिघा जग्गा बेचेर आएको १० लाख र अन्य चार जनाबाट पाँच लाख २६ हजार २६१ रुपियाँ ऋणबाट सङ्कलन भएको उल्लेख छ ।
वाणी कुलो जल उपभोक्ता संस्थाको नाममा जग्गा किनिए पनि लालपुर्जा नभएको बरु रावलबाट किनेको २९ कट्ठा जग्गा चन्द्र साउदका नाममा रहेको वाणी कुलो समितिका नवनियुक्त अध्यक्ष विधिराम चौधरीले बताउनुभयो ।
उपभोक्ता समितिले जग्गा किन्न प्रतिबिघा धरौटी पाँच सय रुपियाँ र बिघौती (प्रतिबिधा कर) एक हजार छ सय रुपियाँका दरले पैसा उठाउने निर्णय गरेको थियो । बिघौती शुल्क भने अनुसार नउठ्दा जग्गा बेचेर थप रकम दिएको समितिका सदस्यसमेत रहेका कुशबहादुर चौधरीले बताउनुभयो ।
“यति नै पैसा उठाएर एक बिघाभन्दा बढी जग्गा किनेर फिर्ता दिन्छु भनेका थिए । ११ वर्ष भयो न जग्गा किनिदिए न त साधारण सभा गरे । जग्गा बेचेको घरझगडाले डिप्रेसनमा गएर दुई वर्षअघि श्रीमती गुमाएँ,” चौधरीले भन्नुभयो ।
कुलो समितिका पदाधिकारीलाई साधारण सभा गर्न २०८० पुस मसान्तसम्म म्याद दिएकोमा नगरेपछि गाउँलेहरूले भेला गरेर नयाँ समिति बनाएका छन् । जलस्रोत तथा सिँचाइ विकास कार्यालयका प्रमुख अमरबहादुर पालले ५० लाख रुपियाँको पानी बाँड्ने संरचना र पक्की नहर बन्न नदिन पुरानो समितिका मान्छेले दबाब दिने गरेको बताउनुभयो ।
नयाँ समिति गठनसँगै किसान भेला भएर कुलो सफाइ गरिरहेका छन् भने निर्माण संरचनाको काम पनि सुरु हुन लागेको छ । यो सिँचाइ परियोजनाको निर्माण २०६८ सालमा करिब १८ करोड रुपियाँको लागतमा सुरु गरिएको तर बाँधबाहेक अन्य संरचना नबनेको स्थानीय बताउँछन् ।
किसानमाथि अन्याय
कुलोका लागि एक बिघा जग्गा बेचेर भूमिहीन भएका कुशबहादुरले उल्टै दुई लाख ९५ हजार तिर्नुपर्ने देखाएका छन् । जग्गा बिक्रीपछि तत्कालीन अध्यक्ष डम्बरबहादुर परियारले जग्गा कमाई खान दिएको तर चार वर्षपछि अधियाँ मागेपछि छोडेको कुशबहादुरले बताउनुभयो । नयाँ समितिलाई बुझाएको हिसाबमा कुशबहादुरले कमाएको जग्गाको अधियाँबापतको रकम एक लाख ६० हजार रुपियाँ र बेच्नुअघि जग्गा फुकुवाबापतको एक लाख ३५ हजार रुपियाँ गरेर दुई लाख ९५ हजार रुपियाँ तिर्नुपर्ने देखाइएको छ । यस्तै कुलोका लागि एक लाख ऋण निकालेका स्थानीय किसान श्रीकृष्ण चौधरीले पनि रकम फिर्ता नपाएपछि साँवाब्याज गरेर साढे चार लाख रुपियाँ आफैँले तिर्नु परेको दुःखेसो गर्नुभयो ।
कुलो समितिलाई दुई लाख रुपियाँ दिएका महादेउलीका रामभरोसे चौधरीको पनि पैसा नपाई मृत्यु भइसकेको छ । स्थानीय किसान मिलन चौधरीले अघिल्लो समितिले बर्सेनि प्रतिबिघाका दरले शुल्क उठाउँदै आएको जानकारी दिनुभयो । समितिका नाममा रकम हिनामिना भएकाले सरकारीस्तरबाट खोजीनिती हुनुपर्ने उहाँ बताउनुहुन्छ ।