• ७ जेठ २०८१, सोमबार

कांग्रेसद्वारा अग्निपीडितका लागि ट्युबवेल प्रदान

blog

अग्निपीडितलाई चापकल र खाद्यन्न सामग्री प्रदान गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख २७ गते ।
 सप्तरीको चिम्टीका अग्निपीडितहरूलाई स्वच्छ खानेपानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपाली कांग्रेस सप्तरीले आधा दर्जन ट्युबवेल (चापाकल) प्रदान गरेको छ ।

खानेपानीका लागि जडान गरिएको चापाकल आगलागीमा जलेर नष्ट भएका कारण खानेपानी सहज रूपमा उपलब्ध होस् भनेर कांग्रेसले चापाकल प्रदान गरेको हो । कांग्रेस सप्तरी सभापति रामदेव साहले बिहीबार अग्निपीडितहरूलाई छ थान ट्युबवेल, पाइप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयश्वरकिशोर दासलाई हस्तान्तरण गरेका गर्नु भएको छ ।

आगलागीमा चापाकल जलेर नष्ट हुँदा खानेपानीको समस्या टडकारो देखिएपछि अग्निपीडितहरूको लागि ट्युबवेल वितरण गरिएको सभापति साहले बताउनुभयो । उहाँले अग्निपीडितहरूलाई खाद्यान्नसहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा कांग्रेसले खानेपानीको आवश्यकतालाई पूरा गर्न जडान खर्च सहित ट्युबवेल उपलब्ध गराएको जानकारी दिनुभयो ।

नेविसंघद्वारा खाद्यान्न सामग्री वितरण

यसैगरी बिहीबारै नेपाल विद्यार्थी सङ्घ सप्तरीले अग्निपीडित ६६ परिवारजनलाई राहत स्वरूप खाद्यान्न सामग्री उपलब्ध गराएको छ । चामल, दाल, खानेतेल, चिउरा, नुन लगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको नेविसंघ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिनुभयो ।

वैशाख १८ मा महदेवा गाउँपालिका वाड नं. १ चिम्टीमा भीषण आगलागी हुँदा ६६ परिवारका एक सयभन्दा बढी घर जलेर खरानी भएको थियो । अहिले अग्निपीडितहरूलाई बसोबासको समस्या रहेको वडाध्यक्ष दासले बताउनुभयो । ‘‘खाद्यान्नलगायतका सामग्रीको अभाव छैन, तर यहाँका पीडितहरूलाई बसोबासको मुख्य समस्या छ ।’’ उहाँले भन्नुभयो ।

प्रतिपरिवारलाई कम्तीमा पनि पाँच जनासम्म बस्न सकिने ठोस घरको सबैभन्दा बढी खाँचो रहेकाले सहयोगी निकायहरूलाई त्यतातिर ध्यान दिन वडाध्यक्ष दासले आग्रह गर्नुभयो ।

राहत वितरण कार्यक्रममा कांग्रेस सप्तरी उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, युवा नेता ईरसाद अन्सारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरीलगायतका उपस्थिति थियो ।