• ७ जेठ २०८१, सोमबार

रैथाने बाली प्रवर्द्धनमा जोड

blog

गढी–८, बुढिचौरमा उत्पादित मिठे र तिते फापरको दाना संकलन गरिदै । तस्बिर सौजन्यः चन्द्रकान्त चौधरी

अनिल पराजुली

हेटौँडा, वैशाख २६ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ । हराउँदै गएका कोदो, फापर, जुनेलो जस्ता पौष्टिकयुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरू खुसी भएका छन् । 

पालिकाले चालु आवको चैत समान्तसम्म सहकारीहरूमार्फत ८ टन फापर, ७ टन कोदो र एक टन जुनेलो सङ्कलन गरेको छ । विगत ३ वर्षदेखि गाउँपालिकाले कोदो, जुनेलो, धानकोदो र फापरको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ भने गाउँपालिकाले सहकारीहरूमार्फत खरिद गराई किसान र सहकारीलाई थप अनुदानसमेत दिँदै आएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/०७८ देखि नै कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेर सहकारीमार्फत उत्पादन खरिद गर्ने व्यवस्था गरिएको छ । कोदो, फापरसँगै धानकोदो र जुनेलोको पनि समर्थन मूल्य तोकेर खरिदबिक्री भइरहेको छ ।  उत्पादन गरेका बालीको राम्रो मूल्य पाउने निश्चितता भएपछि व्यावसायिक रूपमा खेती गर्ने किसान थपिएका छन् । 

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि कोदो र धान कोदोको मूल्य प्रतिकिलो ५४ रुपैयाँ, जुनेलोको ८४ र फापरको एकसय रुपैयाँ मूल्य तोकेको थियो । न्यूनतम समर्थन मूल्य तोकिएका अन्नबालीमा गाउँपालिकाले थप प्रतिकिलो १० रुपियाँ अनुदानसमेत दिँदै आएको छ । सो अनुदान रकममध्ये प्रतिकिलो ६ रुपियाँ किसानले पाउनेछन् भने ४ रुपियाँ खरिद गर्ने कृषि सहकारीले पाउने गरेका छन् । गाउँपालिकाले चालु वर्ष अन्नबाली खरिद बिक्रीका लागि ५ लाख रुपियाँ अनुदान छुट्याएको कृषि शाखाले जनाएको छ। 

न्यूनतम समर्थन मूल्य निर्धारण भएपछि गाउँपालिकाले सूचनामार्फत इच्छुक फर्म र सहकारीलाई आह्वान गर्ने गरेको छ । सोअनुरूप गाउँपालिकामै रहेको दुइवटा सहकारीले बर्सेनि ती उत्पादन खरिद र बिक्री गरिरहेका छन् । अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँलेका सबै कोदो खरिद गरी कोदोको पीठोको ब्रान्डिङ गरी बजार पठाउने गरेको छ भने एकता स्वावलम्बन कृषि सहकारीले फापर र जुनेलो खरिद गरी बिक्री गर्ने गरेको छ ।

गढीका किसानले हाल डेढ बिगाहा क्षेत्रफलसम्म कोदो खेती गर्दै आएका छन् । पालिकाभित्र अनुमानित तीन सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि शाखा प्रमुख चौधरीले बताउनुभयो ।