• ८ मंसिर २०८१, शनिबार

कविता

मेरी आमा

blog

मेरो साक्षात देवी आमा,तिमीले यो धर्ती टेकायौ

सारा संसार जगत् कस्तो रहेछ भनी देखायौ

आफ्नो छातीभित्रको अमृतपान पिलाई बचायौ

जीवनको आनन्दमय पलहरुको स्वाद चखायौ

दुःखजिलो गरी आर्थिक भार उठायौ

आफ्नै पसिना बेची सन्तानको खुशी जुटायौ

‍‍‍।।

न बादल भनी न वर्षा भनी मेलापात गरेर

आधा पेट खाई गुजारा गर्‍याै पटुकी कसेर

सन्तानको सुखको कल्पना गरी हिँड्यौ मनको मझेरीमा

सन्तानकै गुणगान गाई हिंड्थ्यौ पानी पँधरीमा

न दिनमा आराम थियो न रातमा निद्रा थियो

तर पनि निभेको थिएन मेरी आमाको आशाको दियो

।।।

पढाइ लेखाइमा अब्बल बनाउने मेरी आमाको चाहना

भाँडाकुटी खेली बस्ने रहरमा चल्दैनथ्यो बहाना

मेरी आमाको आफ्नो सपना सन्तानभित्र थियो

नयाँ लुगा सन्तानलाई किन्न खोज्दै हिंड्थ्यौ धागो सियो

सानो आशाको दियो बाली सन्तानमा प्रकाश खोज्यौ

आफ्नो सुख खुशीभन्दा सन्तानको खुशी रोज्यौ

।।।।

एक मात्र निःस्वार्थ प्रेम गर्ने मलाई मेरी आमा

तिमी नै मेरो जीवनको सबथोक हौ तिमी नै भगवान्

तिमीलाई सेवा खुशी दिन सके जानुपर्दैन तीर्थ धाम

अमृतसरि मीठो लाग्छ मलाई मेरी आमाको पकवान

।।।।।

हर पाइलामा सिकाएको मेरी आमाले संस्कार

हरपल रमाइलो लाग्दैछ त्यसैले त आज संसार

आमा तिम्रो न्यानोपनमा संसार बिर्सें मैले

औंसीमा मात्र होइन मेरी आमा तिम्रो याद आउँछ जहिले जहिले ।।

Author

झरना के.सी.