• ६ जेठ २०८१, आइतबार

राष्ट्रियताको विषयलाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती

blog

मङ्गलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ।

काठमाडौँ, वैशाख २५ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको हो ।

उहाँले विभिन्न व्यक्तिहरूले बैङ्कको किस्ता तिर्न नसक्दा र बच्चाहरूको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।

‘‘एसियाका दुई शक्तिशाली राष्ट्रबिच रहेको नेपाल संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुक हो । अतः हाम्रो सन्दर्भमा राष्ट्रिय सुरक्षाको विषय धेरै पेचिलो र यो विषयलाई राजनीतिक तथा प्रशासनिक नेतृत्व तथा नीति निर्माण तहमा काम गर्ने प्रत्येक कर्मचारी, पदाधिकारीहरूले गम्भीरताका साथ बुझ्न र गहिरोसँग मनन गर्नको निम्ति आवश्यक छ । मुलुकको भूमि, स्वतन्त्रता, सार्वभौमसत्ता, सुरक्षा रक्षा मन्त्रालय वा नेपाली सेनाको मात्र विषय नभएर राज्यका सबै शक्ति र सङ्गठनको साझा कर्तव्य हो ।,’’ मन्त्री उप्रेती, ‘‘राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रको सबै शक्ति र संरचना एकढिक्का भएर उभिन आवश्यक छ । अहिले हाम्रो राष्ट्रिय सुरक्षाको विषय, राष्ट्रियताको विषय कमजोर भएको देखिन्छ । यसको विभिन्न ठाउँमा भएका अभिव्यक्तिलाई हेर्दा बैङ्कको किस्ता तिर्न नसक्दा पनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ । बच्चाहरूको फि तिर्न नसक्दापनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ ।’’

मन्त्री उप्रेतीले विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरी लगायतका कुराहरूसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने पनि बताउनुभयो ।

‘‘हाम्रो जस्तो मुलुक गरिब हुनु आठौँ आश्चर्य हो । देशको सम्पदाहरूको महत्त्वलाई नबुझ्ने अनि राष्ट्रियतालाई नकार्ने। अनि देश फलानोले लिए सस्तोमा गाडी चढ्न पाइन्थ्यो भनेर प्रचारबाजी गर्नेहरूको पछि लागेर ताली बजाउने । राष्ट्रिय सुरक्षाको नीति तय ग¥यो भने हाम्रो देश विकास हुनलाई दश वर्षमा यो मुलुक धनी बन्छ ।,’’ मन्त्री उप्रेतीले भन्नुभयो, ‘‘राष्ट्रियताको विषय सस्तो विषय होइन भनेर हामीले लिएर जानुपर्छ । राष्ट्रिय सुरक्षाको विषय आज पहिलाको इतिहासमा जस्तो घोडामा तरबार लिएर घुमाएर बोर्डरमा हिँड्ने मात्रै होइन । आज वातावरणसँग, भोकमरीसँग सम्बन्धित सबै कुराहरूमा अगाडि बढ्नु अपरिहार्य जस्तो देखिएको छ । सुरक्षाको सवालमा होल अफ द नेशनको अवधारणाले मात्रै काम गर्दछ ।’’

उहाँले देशको सम्पदाको महत्त्वलाई बुझ्नुपर्ने बताउनुभयो । प्राकृतिक स्रोत सम्पदाहरूले धनी भएर पनि नेपाल गरिब हुनु आठौँ आश्चर्य भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले प्राकृतिक स्रोत, सम्पदाको समुचित प्रयोग गर्न सके देश १० वर्षमा धनी बन्ने बताउनुभयो ।