• ६ जेठ २०८१, आइतबार

डढेलोले ३१ सय हेक्टर वनमा क्षति

blog

भूमे गाउँपालिका–१ रुजिखोलाबाट शुक्रबार देखि लागि रहेको डढेलो । तस्बिर : जयमान बुढा मगर

जयमान बुढा मगर
रुकुमपूर्व, वैशाख २५ गते ।
 स्थानीयको लापरबाही, अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ डढेलो लागि रहेको छ । गएको फागुन महिनादेखि यता प्रायः दिनहुँ जिल्लाका विभिन्न वनमा डढेलो लागि रहेको हो ।

रुकुमपूर्वको विभिन्न वनमा दिनहुँ डढेलो लाग्ने गरेता पनि डढेलो लगाउने व्यक्ति भने पत्ता लाग्न सकेको छैन । कसले आगो लगायो भन्ने मान्छे पत्ता लाग्दैनन्, तर दिनहुँ डढेलो लागि रहेको भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । वनमा लागेको डढेलो सुख्खायामका कारणले आगो तत्कालै नियन्त्रणमा ल्याउन कठिनाइ हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

गएको फागुन महिनादेखि यता जिल्लाका विभिन्न वनमा डढेलो लाग्दा ३१ सय हेक्टर वन विनाश भइसकेको डिभिजन वन कार्यालय रुकुमपूर्वका प्रमुख जितेन्द्रसिंह खड्काले बताउनुभयो । पुथाउत्तरगङ्गा गाउँपालिकामा बढी डढेलो लागेको खड्काले जानकारी दिनुभयो । त्यसैगरी पुथाउत्तरगङ्गाको तुलनामा सिस्ने र भूमे गाउँपालिका अलि कम डढेलो लागेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । 

फागुनदेखि हालसम्म डढेलो नियन्त्रण गर्ने क्रममा १० जना घाइते भएका छन् भने घरबस्तीमा क्षति भएको छैनन् । आवश्यक जनशक्ति, स्रोत साधन र तालिमको अभावले तत्कालै डढेलो नियन्त्रण गर्न नसकिराखेको खड्काले बताउनुभयो । डढेलो लगाउने व्यक्तिको पत्ता लगाउन अनुसन्धानको काम जारी रहेको डिभिजन वन कार्यालयका प्रमुख खड्काले जानकारी दिनुभयो ।

आगो लागिले जनधन, वन, जङ्गल क्षति हुनुका साथै मानव स्वास्थ्य तथा वन्यजन्तुलाई असर पार्ने भएकाले स्थानीय नै सजक हुनु पर्ने खड्काले बताउनुभयो । दिनहुँ डढेलोको कारणले वातावरण प्रदूषित भएको छ । त्यसको असरले गर्दा हाल मौसमी बिरामी हुनेहरूको सङ्ख्या पनि बढी रहेको जिल्लास्थित स्वास्थ्य संस्थाले बताएका छन् ।