• ६ जेठ २०८१, आइतबार

दुर्गम गाउँमा विद्युतीकरण गरिँदै

blog

बिजुली बत्ती बाल्ने कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख २५ गते । 
दुर्गम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित गिजनचउर र छाप गाउँमा पहिलो पटक बिजुली बलेको हो ।

यहाँका १३३ घर परिवारले पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बाल्न पाएकोमा खुसी भएका छन् । त्यस क्षेत्रमा विद्युतीकरणका लागि पाँच करोड बढी खर्च भएको छ । यसअघि लघु जलविद्युत्मार्फत दैनिक चार/पाँच घण्टा मात्रै बिजुली बत्ती बाल्नुहुँदै आएका यहाँका बासिन्दाले अबदेखि २४ सै घण्टा बत्ती बाल्न पाउने भएका छन् ।

लघु जलविद्युत् बारम्बार बिग्रिरहने समस्याले हैरान भएका स्थानीय बासिन्दाका लागि केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणले गाउँ उज्यालो बनाएको तिनाउ–४ का वडाध्यक्ष तुलबहादुर आलेले बताउनुभयो । गाउँलेसँग लघुजलविद्युत बनाउने आर्थिक अभाव भएका बेला केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणले धेरै राहत मिलेको उहाँले बताउनुभयो ।

लघु जलविद्युतको मर्मतसुधार गर्न नसक्दा केही वर्षदेखि बिजुली बत्ती अनियमित हुने समस्या रहेको थियो । जलविद्युत् मर्मतसम्भार गर्न धेरै पैसा नहुँदा बिजुली बत्ती बाल्न समस्या भएका बेला विद्युतीकरणले स्थानीय बासिन्दा हर्षित बनेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । पालिका र विद्युत् प्राधिकरणको पहलमा गाउँमा बिजुली बत्ती बाल्न सफल भएको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले यो वर्ष जिल्लालाई नै विद्युतीकरण गरेर सक्ने जनाएको छ । जिल्लाको माथागढी, निस्दी र तिनाउ गाउँपालिकामा विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा विद्युतीकरण गरेर सक्ने योजना रहेको केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक सबै खालका पूर्वाधार तयार गरिएको र अहिले काम भइरहेको उहाँले बताउनुभयो । यस्तै यही वर्षभित्र जिल्लाभित्रका एक हजार दुई सय काठका जीर्ण पोल विस्थापित गरेर फलामका पोल स्थापित गर्ने काम भइरहेको छ ।