• ६ जेठ २०८१, आइतबार

शान्ति सहर घोषणाको माग

blog

लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी अतिथि । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता

भैरहवा, वैशाख २५ गते । भगवान् बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागीले बौद्ध ध्यान र साधनाको राजधानीका रूपमा शान्ति सहर घोषणा गर्न माग गरेका हुन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान्, अध्येता तथा अनुसन्धानकर्ताले बुद्ध जन्मस्थललाई शान्ति र बौद्ध दर्शनको उद्गम स्थलका रूपमा प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन् । ‘विश्वव्यापी चुनौतीको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक गोष्ठीमा सहभागीले राजनीतिक व्यवस्थाको परिवर्तन तथा सम्पूर्ण द्वन्द्वका विषय समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न आग्रह गरेका हुन् । बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नका लागि सम्बन्धित निकायलाई विशेष अनुरोध गरेका छन् । 

वातावरणीय असन्तुलन, आर्थिक सङ्कट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकूलता जस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनीकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्नुपर्ने कुरा गोष्ठीपछि सार्वजनिक गरिएको लुम्बिनी घोषणापत्रमा उल्लेख छ । 

बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा धारणा राख्दै योग गुरुहरूले बढ्दो सामाजिक समस्याको समाधान योग भएको बताएका हुन् । 

आचार्य बालकृष्ण र डा. विकासानन्दले मानव जातिले दुःखबाट मुक्ति पाउने एक मात्र उपाय ध्यान र साधना भएको बताउँदै जीवनका हरेक समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह गर्नुभयो ।  

गोष्ठीमा योगगुरूहरू डा. भोलानाथ योगी, डा. चिन्तामणि योगी, भानु शर्मा, प्राडा विशाल सिटौला र डा. क्षितिज बराकोटीले सबै धर्म, परम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक व्यक्तिको जीवनपद्धतिसँग जोड्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने तयारी गरेको जानकारी दिनुभयो । बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले पनि यसलाई छुट्टै विषयका रूपमा अध्ययन अध्यापनको तयारी थालेको बताउनुभयो ।

सो गोष्ठीमा नेपाल, थाइल्यान्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, श्रीलङ्का, पोर्चुगल, नर्वेलगायत विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।