• ६ जेठ २०८१, आइतबार

गण्डकीमा दुई मन्त्री थप

blog

नवनियुक्त मन्त्री सीता सुन्दास र वेदबहादुर गुरुङलाई शपथ ग्रहण गराउनुहुँदै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २४ गते ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । एमाले संसदीय दलका नेतासमेत रहनुभएका अधिकारीले आफ्नो पार्टीबाट सांसदहरू सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुन्दास र गुरुङलाई सोमबार शपथ गराउनुभएको हो । सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य र गुरुङलाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि सोमबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । दुवै जना मुख्यमन्त्री अधिकारीको अघिल्लो कार्यकालमा पनि मन्त्री हुनुहुन्थ्यो ।

सत्ता साझेदार माओवादी केन्द्रले मन्त्री नटुङ्ग्याएका कारण मन्त्रिमण्डल अझै पूर्ण भएको छैन । गण्डकीमा यसअघि नै नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान आर्थिक मामिला र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्छ ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि अधिकारी चैत २४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालत जानुभएका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे फेरि अदालत जाने तयारीमा हुनुहुन्छ ।

६० सदस्यीय प्रदेशसभामा सभामुखलाई तटस्थ मानेर ५९ सदस्यमा ३० सदस्यको समर्थनलाई सभामुख कृष्ण धितालले सभाको बहुमत घोषणा गरेपछि दलहरूबिच विवाद छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डे सभामुख धितालविरुद्ध अदालत जाने तयारीमा हुनुहुन्छ ।