• ६ जेठ २०८१, आइतबार

युवा सम्मेलन हुने

blog

बागमती प्रदेश युवा परिषद् हेटौँडा । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख २४ गते । बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा आयोजना हुने प्रदेश युवा सम्मेलनको तयारी तीव्र पारिएको छ । बागमती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो । 

यही वैशाख २८, २९ र ३० गते प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुनेछ । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुनेछ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गर्न लागिएको हो । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइने छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइने छ ।

सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिने छ । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले युवाको वृहत् हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआई, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उहाँको भनाइ छ । युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताउनुभयो ।

प्रदेश युवा सम्मेलनमा युवासँग मुख्यमन्त्री कार्यक्रम, सरोकारवाला बिच बहस, सहभागी बिच अन्तरक्रिया र सञ्जाल निर्माण, सांस्कृतिक कार्यक्रम हुनेछ । सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायताको सहभागिता रहने आयोजकले जनाएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण भन्ने मूल नाराका साथ हुने सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने छ । 

तीन दिनसम्म चल्ने कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । कार्यक्रमका लागि २७ गते सहभागीहरू हेटौँडा आइपुग्ने आयोजकले जनाएको छ । ११ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो युवा सम्मेलन सकिएको थियो भने ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको युवा परिषद्को दाबी छ ।