• ६ जेठ २०८१, आइतबार

बोलेरो दुर्घटनामा तीन जना घाइते

blog

नवराज श्रेष्ठ

रामेछाप, वैशाख २४ गते । रामेछाप मन्थली नगरपालिका-६ सेलेघाटमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको बोलेरो दुर्घटना भएको छ । मन्थली नगरपालिका–६ भलुवाजोरस्थित सेलेघाटबाट खुर्काेटतर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो सोमबार दिउँसो दुर्घटना भएको हो । 

दुर्घटनामा तीन जना घाइते भएका छन् । सेलेघाटबाट सिन्धुलीको खुर्काेटतर्फ जाँदै गरेको बोलेरो सोमबार दिउँसो १ बजे मन्थली नगरपालिका ६ सेलेघाट नजिक दुर्घटना हुँदा बोलेरो चालक सहित तीन जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "दुर्घटनामा चालक सहित तीन जना घाइते भएका छन् । घाइते हुनेहरू रमण कन्स्ट्रक्सन मार्फत सुनकोशी मरिण डाइभर्सन आयोजनामा काम गर्ने भन्ने खुलेको छ । अन्य परिचय खुलेको छैन ।" 

उहाँका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ भने दुई जनाको हात र खुट्टामा चोट लागेको छ । घाइतेहरूको खुर्काेटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चौलागाईँले बताउनुभयो । बोलेरो सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीको अनुमान छ । 

रामेछापमा पछिल्लो समय सडक दुर्घटना बढेको छ । चालु आर्थिक वर्षको वैशाख महिनाको हालसम्म आधा दर्जन बढी सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार सडक दुर्घटनामा परी वैशाख महिनाको हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने ३० जना भन्दा बढी घाइते भएका छन् । चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि हालसम्म जिल्लाको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी आठ जनाले ज्यान गएको छ भने ७० जना भन्दा बढी घाइते भएका छन् ।