• ४ जेठ २०८१, शुक्रबार

वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक

blog

कप्तान रोहित पौडेल

काठमाडौँ, वैशाख २० गते। वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउनुभएको छ। यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाउनुभएका पौडेलले चौथो खेलमासमेत अर्धशतक बनाउनुभएको हो। 

३४ बल खेल्दै कप्तान पौडेलले ५३ रन बनाउनुभएको हो। उहाँले दुई छक्का र छ चौकाको मद्दतमा अर्धशतक बनाउनुभएको हो। 

शनिबार भएको पहिलो खेलमा उहाँले शतकीय इनिङ खेल्नुभएको थियो। उहाँले ५४ बल खेल्दै ११२ रन बनाउनुभएको थियो। आइतबार भएको दोस्रो खेलमा नटआउट ७१ रन बनाउनुभएका पौडेललाई तेस्रो खेलमा भने आराम दिइएको थियो। चौथो खेलमा बिहीबार अर्धशतक बनाउनुभएको हो। 


दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरको समाप्तिमा चार विकेट गुमाएर सय रन बनाएको छ। क्रिजमा कप्तान पौडेल र दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा  दुई सय ९ रन बनाएको हो 

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो। यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाउनुभयो। बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो। 


पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ। नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो। दोस्रो खेल वेस्ट इन्डिजले १० रन र तेस्रो खेल ७६ रनले जितेको थियो। नेपाल आज जित निकाल्दै सिरिज बराबर गर्ने अभियानमा छ। वेस्ट इन्डिज ‘ए’ अन्तिम खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ। 

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो। विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा  भइसकेको छ।