काठमाडौँ, वैशाख १५ गते। टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिनुभएको थियो। वेस्ट इन्डिज ‘ए’ ले पाँच विकेटको क्षतिमा २०४ रन बनाएको हो।
नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गर्नुभयो। उहाँले ४६ बल खेल्दै ७४ रन बनाउनुभएको हो। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाउनुभयो।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पार्नुभयो। नेपालले वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ सुरु गरेको छ।
नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा हुनुहुन्छ।
यो खेलमा आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख बेन्चमा हुनुहुन्छ।
त्यसैगरी वेस्ट इन्डिज ‘ए’ को प्लेइङ एघारमा जोन्सन चार्ल्स, अलिक अथान्जे, म्याथ्यु फोर्ड, गुडाकेश मोती, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, ओबेद मकोए र ओशेन थोमस हुनुहुन्छ।