‘ने’ नाम गरेका मुनिले पालन गरेको हुनाले यो देशको नाम नेपाल रहन गएको हो । त्रिकालदर्शी मुनिले पालन गरेको देश हरेक दृष्टिले उत्तम हुन्छ नै । त्यस्तै भगवान् यज्ञ वराहले हिरण्याक्षद्वारा पातालमा धसाइएकी पृथ्वीलाई उद्धार गरिसकेपछि वराह क्षेत्र धाममा आफू समाधिस्थ हुनुभएको हो । यिनै प्रमाणिक तथ्यका आधारमा हामीहरू नेपालका पवित्र स्थल पिण्डेश्वर चतराधामलाई कुम्भमेलाको जननी हो भनेर सहजै विश्वास गर्न सक्छौँ । यो एउटा अनुसन्धानको विषय पनि हो ।
पछिल्लो चरणमा कुम्भमेलाको विस्तार भारतबाट भएको हो । यसको मुख्य कारण भारतमा प्रारम्भदेखि नै संस्कृतज्ञ विद्वान्हरूको कमी थिएन । उनीहरू सम्पूर्ण शास्त्रका ज्ञाता थिए । तसर्थ समुद्र मन्थनका क्रममा प्रकट भएको अमृतको कुम्भलाई देवता र दानवका बिचमा विवाद भई युद्ध मच्चिँदा गुरु वृहस्पतिले त्यसको जतन गर्ने क्रममा उनी जहाँ–जहाँ गए ती ती स्थानहरूमा अमृतका बुँद (थोपा) खसेको हुँदा तिनै ठाउँहरूमा कुम्भमेलाको आयोजना गर्ने प्रचलन भारतीय सन्तमहन्तले बसालेका हुन् । उनीहरूले नेपालप्रति दृष्टि दिएनन् । साक्षात् अमृत पिण्ड र अमृतको बुँद खसेको पवित्र पावन भूमि नेपाललाई उनीहरूले बेवास्ता गरे । कुम्भमेलाको प्रारम्भ नेपालबाट भएको तथ्यलाई थाहा पाएर पनि बुझ पचाउने कार्य गरे । नेपाल सानो मुलुक त्यसमा जनसङ्ख्या पनि थोरै भएको देश भएको हुनाले यहाँको गतिविधि धेरै प्रचारप्रसारमा जान सकेन । अतः यसैको परिणाम स्वरूप भारतीय विद्वान्का मतमा भारत कुम्भको जननी ठहरिन पुगेको हो तर यो सत्य कुरा होइन । यसको अझै व्यापक अध्ययन र अनुसन्धान हुनु पर्छ । हामी भारतको कुम्भमेलाको स्वागत गर्छौं । किनभने भारतका हरिद्वार, प्रयाग, उज्जैन, नासिका (गोदावरी) मा अमृतका बुँद खसेकै हुन्, जसलाई हाम्रा पौराणिक आख्यानले स्पष्ट पारेका छन् । साथसाथै ती पौराणिक आख्यानहरूले नेपालका सम्बन्धमा पनि चुप लागेर बसेका छैनन् । त्यहाँ नेपालका सम्बन्धमा प्रशस्त प्रमाण पाइन्छन् ।
नेपाल देवताहरूको आत्मा बसेको ठाउँ हो । देवभूमि, तपोभूमि, ज्ञानभूमि र हिमभूमिका रूपमा नेपालले प्राचीन कालदेखि नै प्रख्याति कमाउँदै आएको हो भन्ने तथ्यलाई कसैले नकार्न सक्दैन । यसै सन्दर्भमा संस्कृतका महाकवि कालीदासले आफ्नो ‘कुमारसम्भवम्’ महाकाव्यमा मुक्तकण्ठले स्वर उरालेका छन्, “अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नागिधराजः ।” देवता तथा ऋषिमुनिहरूका निम्ति पवित्र र सुरक्षित स्थान नेपालबाहेक कतै नभएको हुनाले नेपाल प्राचीनकालदेखि अहिलेसम्म सबैको उत्कृष्ट धार्मिक गन्तव्य स्थल हुँदै आएको हो । अतः यसै क्रममा हामीले के सम्झनु पर्छ भने अमृतकुम्भको विषयलाई लिएर देवासुर सङ्ग्राम हुँदा गुरु वृहस्पतिले अमृत दानवका हातबाट जोगाउनका निम्ति नेपाललाई रोजेका हुन् । यो भनाइ पुष्टि गर्न सुनसरी, धरानका मूर्धन्य पथिक कवि लक्ष्मी आचार्यका किवतांशलाई प्रस्तुत गर्न सकिन्छ :
“उब्ज्यो साङ्ख्य जहाँ थिए जनक ती सीता जहाँ जन्मिइन् ।
गर्छन् बुद्ध दया र दुर्गशमनी दुर्गा यहाँ डुल्दछिन् ।।
खाएथे शिवले हलाहल यहीँ साक्षी सबै शास्त्र छन् ।
मेरो स्वर्ग र धाम यै छ मसँगै देउताहरू डुल्छन् ।।”
यस्तो गौरवमय पवित्र भूमि भएकै हुनाले गुरु वृहस्पति नेपालका कनकाइ (सुरुङ्गा), गोकर्णेश्वर (काठमाडौँ), देवघाट (त्रिवेणी) र सुनसरी धरानको पिण्डेश्वर, चतरामा अमृतका बुँद छचल्काउँछन् । उनले यहाँ अमृतका बुँद मात्रै छचल्काएनन्, धरानको विजयपुरमा अमृतको मूल तत्व (अमृतको तर, जसलाई अमृतको मूल तìव भनिन्छ) बाट निर्मित अमृतपिण्ड नै स्थापित गरे, जसबाट पिण्डेश्वर महादेवको बिग्रह बन्न पुग्यो । महादेव बाबाको यो ठाउँ अति नै प्रिय पनि हुन पुग्यो । उनै पिण्डेश्वर महादेवले अमृतपिण्डको सुरक्षा गरिरहेका छन् । यहाँ प्रत्येक दिन भातको पिण्ड तयार पारेर भगवान् भोलेनाथलाई अमृत पिण्डको प्रतीकका रूपमा भोग लगाउने गरिन्छ । यसैले गर्दा उनको नाम यहाँ पिण्डेश्वर महादेव हुन गएको हो । अहिले यो ठाउँ पिण्डेश्वर बाबा धामका नामले पनि प्रख्यात हुन पुगेको छ ।
कुम्भमेलाका समयमा जलाशय, खोला, नदी वा सरोवरहरूमा स्नान गरी मठ मन्दिरको दर्शन र परिक्रमा गर्नाले ठुलो पुण्य प्राप्त हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख भएको छ । अनेकौँ तीर्थ, व्रत, दान, दक्षिणा गरेको फल कुम्भमेलामा स्नान गरी भगवान्को पूजा गर्नाले प्राप्त हुन्छ । यसमा कसैले शङ्का र विमति नजनाए हुन्छ ।
देवताका गुरु वृहस्पतिले अमृतकुम्भको पिण्ड पिण्डेश्वर बाबा धाममा स्थापित गरेको हुनाले नै कुम्भमेलाको जननी नेपाल हो भन्ने कुरा स्पष्ट हुन गएको छ । यसमा कसैले शङ्का नगरे हुन्छ । अमृतको थोपा खसेको ठाउँ त कुम्भमेलाको हकदार ठहरिन्छ भने साक्षात् अमृतको पिण्ड स्थापित भएको ठाउँ कुम्भमेलाको प्रथम हकदार हुन सक्दैन भन्ने कुरा यदि कसैले भन्छ भने त्यो हास्यास्पद तथा बालहठ मात्र ठहरिन जान्छ ।
हाम्रा पुराणादि ग्रन्थहरूले रुद्राक्षारण्य–पिण्डेश्वर–विजयपुर, चतरा, विष्णुपादुका, रामधुनी, कोका, कौशिकी सङ्गम, वराह क्षेत्र आदि स्थानहरूलाई हरिहर क्षेत्रका रूपमा व्याख्या तथा विश्लेषण गरेको पाइन्छ । यी स्थानहरूलाई स्वर्गभन्दा पनि उत्तम स्थानका रूपमा स्वीकार गरिएको छ । यस्तो ठाउँमा अर्धकुम्भ वा पूर्णकुम्भको आयोजना हुँदै आउनु भनेको नेपालका लागि मात्रै नभएर विश्वकै लागि सुखद कुरा हो । पुराणमा बताइएको छ ः
“कौशिक्याः पूर्वतो देवि ! दशयोजनमायतम् ।
जलेश्वरालयात् तद्वत् दशयोजनविस्तृतम् ।।
रुद्राक्षारण्यमाख्यातं क्षेत्राणामुत्तमोत्तमम् ।
सुधासार महादेवो यत्र पिण्डेश्वर प्रभुः ।।”
अर्थात् कौशिकी गङ्गादेखि पूर्व ८० माइल लामो, उता जलेश्वर जनकपुरदेखि ८० माइल फैलिएको यता कौशिकीसम्मको भूभाग चाहिँ उत्तम क्षेत्र, उत्तम अरण्यहरूमा उत्तमोत्तम हो । यो क्षेत्र रुद्राक्षारण्यका नामले पनि प्रसिद्ध छ । यस क्षेत्रमा रुद्राक्षको महावन छ । यहाँ सुधासार पिण्डेश्वर महादेव प्रभु र शीतशैल विजयपुरमा विराजमान हुनुहुन्छ ।
“पिण्डेशाद् योजनाभ्यासे संगमे कौशिकोकयोः ।
वर्तते धरणीधाता क्रोडरूपी जनार्दनः ।।”
अर्थात् पिण्डेश्वरबाट आठ माइल पश्चिमोत्तर, कौशिकी र कोका सङ्गममा पृथ्वीको पुनरुद्धार गर्ने भगवान् यज्ञवराहरूपी विष्णु विराजमान हुनुहुन्छ ।
“नित्य हरिहरक्षेत्रं विशिष्टं धरणीतले ।
शिव पिण्डेश्वरो विष्णुवराहश्च न मुञ्चतः ।।
रुद्राक्षारण्य मध्यस्थं तीर्थं वाराहसंज्ञितम् ।
कोका च कौशिकी गङ्गा संगम् मोक्षदायकम् ।।”
अर्थात् पृथ्वीतलमा नित्य तीर्थ एवं विशिष्ट हरिहर क्षेत्र त्यो नै हो, त्यहाँ शिव पिण्डेश्वर र वराह विष्णु सधैँ विराजमान हुनुहुन्छ । रुद्राक्षारण्यभित्र जहाँ वराहतीर्थ छ त्यहाँ कोका र कौशिकीको सङ्गम पावन र पुण्यदायक छ । उल्लिखित प्रमाणका आधारमा कुम्भमेलाको इतिहास यहीँबाट प्रारम्भ भएको हो । बिचमा कता के के भएर हो नेपालमा कुम्भमेलाको प्रचलन सुस्ताउन गएको थियो ।
यस्तो पवित्र सुन्दर रमणीय ठाउँमा २०५९ सालदेखि जगत् गुरु बालसन्त महाराजको अगुवाइमा कुम्भमेलाको आयोजना हुँदै आएको छ । यसपालि अर्थात् विसं २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २८ गते पूर्ण कुम्भमेला पिण्डेश्वर–चतराधाममा लागिरहेको छ । यसमा सम्पूर्ण नेपाली तथा विदेशी महानुभावहरूले पुण्यको लाभ उठाउनु पर्छ ।
ज्यतिषीय ग्रहगोचरका आधारमा कुम्भमेलाको तिथि, मिति तय हुने गर्छ । कुम्भमेलाका सन्दर्भमा सुनसरी इनरुवा निवासी ९२ वर्षका पण्डित एवं ज्योतिर्विद् कृष्णप्रसाद सिग्देलले शास्त्रीय प्रमाण यसरी प्रस्तुत गर्नुभएको छ :
कुण्डलीमा उल्लेख गरिएका स्थानमा अमृतको बुँद खसेको प्रमाण पाइन्छ । यसैका आधारमा चतरा धाममा कुम्भमेला आयोजना हुँदै आएको हो । कुण्डली चक्रमा दिए अनुसार १. सुनसरीको धरानमा रहेको अमृतकुण्ड पिण्डेश्वर महादेवको मन्दिर, २. कनकाई माई सुरुङ्गा (झापा), ३. देवघाट त्रिवेणी, ४. गोकर्णेश्वर (काठमाडौँ) लाई कुम्भमेलाको पवित्र स्थान मानिएको छ ।
भारत चक्रमा उल्लेख भएका क्षेत्रमा अमृतका बुँद खसेका आधारमा कुम्भमेला लाग्दै आएका छन् ।
भारतीय कुण्डली चक्रका आधारमा १. गोदावरी (नासिक), २. उज्जैन, ३. हरिद्वार, ४. प्रयागलाई कुम्भमेलाको पवित्र स्थान मानिएको छ ।
कुम्भमेला विशेषतः चार प्रकारका हुन्छन्ः १. महाकुम्भ, २. पूर्णकुम्भ, ३. अर्धकुम्भ र ४. कुम्भ ।
अन्त्यमा कुम्भमेलाको जननी नेपाल हो भन्ने प्रश्नमा थप अध्ययन, अनुसन्धान हुनु जरुरी छ । दोस्रो विश्वयुद्ध हुनुभन्दा अघि नेपालमा कुम्भमेला लाग्ने गरेको प्रमाण मैले पनि बुढापाकाले भनेका आधारबाट थाहा पाएको हुँ । पण्डित छविलाल पोखरेलले पनि यस विषयमा हामीलाई बताउने गर्नुहुन्थ्यो । अहिले उहाँ हुनुहुन्न । दोस्रो विश्वयुद्धले जनसङ्ख्या घटाएपछि नेपालमा कुम्भमेला स्थगित भएको हो तर नेपालबाटै कुम्भमेलाको प्रारम्भ भएको हो भन्ने कुरालाई माथिका प्रमाणले पुष्टि गरेको छ । अमृतको तर (छाली) बाट निर्मित अमृत पिण्ड पिण्डेश्वर महादेवको विग्रह, जसलाई अहिले पनि हामीले दर्शन र पूजन गरिराखेका छौँ । तसर्थ यकिनका साथ भन्न सकिन्छ – कुम्भमेलाको जननी नेपाल नै हो । यस सम्बन्धमा विज्ञ पाठकहरूले अरू स्रोत पत्ता लगाएर कुम्भमेलाबारे व्यापक प्रचारप्रसार गर्न सकेको खण्डमा आन्तरिक र बाह्य पर्यटकबाट हामीले प्रशस्त आर्थिक विकास गर्न सक्ने छौँ । जय कुम्भमेला ।