भाषालाई संवाद वा सञ्चार माध्यमका रूपमा हेरिन्छ । अर्काको मनको भाव आफूले बुझ्ने र आफ्नो मनको भाव अरूलाई बुझाउने माध्यमका रूपमा यसलाई परिभाषित गरिन्छ । त्यति मात्रै होइन, यतिमै सीमित भएर आन्तरिक वा बाह्य भाषिक औपनिवेशीकरणलाई पनि वास्ता गरिँदैन । यसले कुनै पनि राज्यको शासक वर्ग– राष्ट्रको भाषा सकी नसकी सबैले पहिला सरकारी कामकाजका लागि र पछि शिक्षा, सञ्चारका साथै आमवाग्व्यापारको भाषाका रूपमा प्रयोग गर्ने बाध्यता सिर्जना हुन्छ । त्यसै गरी बाह्य औपनिवेशीकरणमा आव्रmमणकारी शासकको भाषा पनि यसरी नै उपनिवेशहरूमा फैलिने गर्दछन् ।
यस्तो अवस्थामा उत्पीडित वर्ग वा राष्ट्रियताहरूलाई बिस्तारै भान हुन थाल्छ, “आफ्नो पुख्र्यौली भाषा वा मातृभाषाले कुनै रोजगार दिँदैन, त्यसको कुनै औपचारिक समारोह वा प्रशासनिक प्रयोजनमा कुनै मान्यता छैन, त्यसमा लेखिएको कुनै कागजपत्रको सरकारी मान्यता छैन भने त्यसको प्रयोग किन गरिरहनु प¥यो र ?” अहिले बाह्य र आन्तरिक रूपमा नेपालभित्र पनि त्यो भावना जब्बर रूपमा पलाएको छ । आन्तरिक रूपमा अब्बल हुनका लागि नेपाली भाषा अनिवार्य छ भने बाह्य योग्यताका साथै धेरै हदसम्म आन्तरिक योग्यताका लागिसमेत अङ्ग्रेजी अनिवार्य भइसकेको छ तर के कुनै पनि भाषा त्यसै जन्मिएको हुन्छ ?
अमूक भाषाभाषी समाज त्यसै निर्मित भएको हुन्छ ? के उत्पादन प्रणाली र समाजसँग भाषाको कुनै सम्बन्ध छैन ? के कुनै भाषा लोप हुँदा त्यस भाषाको प्रयोक्ता समाज बाँकी रहन सक्छ ? त्यस समाजले निर्माण गरेको जीवनशैली, विश्वास पद्धति, हर्ष र शोक अभिव्यक्तिको शैली बाँकी रहन सक्छन् ? यी र यस्ता अनेकौँ प्रश्न छन्; जसको जवाफ कुनै पनि भाषा लोप हुँदा त्यसको प्रयोक्ता समाजको पक्षमा सकारात्मक आउने सम्भावना टाढा टाढासम्म रहँदैन ।
कुनै पनि भाषा त्यसै जन्मिएको हुँदैन र जन्मेको छैन पनि । भाषाभन्दा पहिले त्यसको प्रयोक्ता समाजको उपस्थिति सङ्गठित वा असङ्गठित रूपमा भइसकेको हुन्छ । त्यस समाजले आफ्ना आवश्यकताका वस्तु, विश्वास र यन्त्रादिको निर्माण गर्न सुरु गर्छ । ती सबैका लागि उसले शब्द निर्माण गरिरहेको हुन्छ । ती शब्दलाई एउटा निश्चित नियामक अभ्यासमा पदसमूह, वाक्यांश र वाक्यमा प्रयोग गरिरहेको हुन्छ । अर्थात् शब्दहरूलाई व्याकरणिक रूपले प्रयोग गर्ने अभ्यास पनि गरी नै रहेको हुन्छ । यस्तो अभ्यासको लामो निरन्तरतामा भाषाको विकास हुन्छ । तसर्थ कुनै पनि भाषा अनुत्पादक हो भन्ने सोच प्रतिगमनकै सङ्केत हो ।
भाषाको उद्भव र विकास त्यसको प्रयोक्ता समाजको मौलिक उत्पादन प्रणालीको उपज हो । त्यसैले कुनै पनि भाषाले त्यसको प्रयोक्ता समाजको जीवनशैली, विश्वास प्रणाली, हर्ष विस्मातको प्रस्तुतीकरणसँगै सिङ्गो संस्कृतिलाई प्रतिविम्बित गरिरहेको हुन्छ । पङ्क्तिकार भोजपुरी मातृभाषी भएकाले कृषि सामग्री तथा परम्परागत कृषियन्त्र उत्पादक लोहार परिवारको सन्तानका रूपमा त्यस पद्धतिको अनुभव गरेको छु । कृषि कर्मका लागि आवश्यक यन्त्रहरूमा हलो, कोदालो, हँसिया, खुर्पी, बञ्चरो र यसका पनि अलग अलग अवयवहरूको नाम मलाई अझै पनि कण्ठै छ । त्यसै गरी कृषि कर्मका साथै पशुपालनमा गाई, भैँसी, बाख्रा, भेडा, हाँस, परेवा, कुखुरा आदि पालेको तथा गोरुको विशेष पालन हुँदै गरेको झल्झली सम्झिरहन्छु ।
यस क्षेत्रमा पनि प्रयोग हुने विभिन्न औजार, ज्यावल तथा प्रक्रियाका लागि भोजपुरी समाजले निर्माण गरेका पारिभाषिक शब्दावलीको सञ्चयन पनि अद्यपि ताजै छ । गएको पाँच दशकभित्र आधुनिकीकरणको नाममा ती सबै शब्द एकपछि अर्को गरी लोप हुँदै गरेका छन् र विकसित प्रविधि पनि विरानो भूमिको उपज भएकाले तिनै उत्पादकहरूको भाषामा आयात भएका छन् । तसर्थ हाम्रो भोजपुरी भाषामा विकसित पारिभाषिक शब्दावलीको ठाउँमा थोरै नेपाली र अत्यधिक मात्रामा अङ्ग्रेजी शब्दावलीको प्रयोग बढ्दो छ । अतः आन्तरिक तथा बाह्य भाषिक औपनिवेशीकरणका कारण सबैभन्दा पहिले मेरो रैथाने भोजपुरी पारिभाषिक शब्दावलीको लोप डरलाग्दो रूपले हुँदै गरेको मैले महसुस गरेको छु ।
भोजपुरी समाज मूलतः कृषि कर्ममा आधारित छ । त्यो कृषि कर्म पनि परम्परागत रूपमा मानव र घरपालुवा जनावरको बलमा गरिने भएकाले सामूहिकताको खाँचो थियो । त्यसैले संयुक्त परिवारको चल्ती थियो । त्यसैले परिवारमा कम्तीमा तीनपुस्ते सदस्य हुन्थे । यस तीन पुस्तामा कम्तीमा आजका आधा दर्जन एकल परिवार सँगै बस्थे । त्यसैले ती सबैका बिच नाता जनाउने बाबा, दाइ, दादी, बाबु, माई, इआ, नाना, नानी, मामा, मामी, मौसी, मौसा, फुआ, फुफा, भइआ, भउजी, काका, काकी, नुनु, बडकी माई, बडका बाबु जस्ता शब्दहरू हाम्रो समाजले निर्माण गरेको थियो ।
हाम्रो समाजमा नाताका शब्द एउटा हुने र तिनै नाताका व्यक्तिहरूलाई बोलाउन अर्कै शब्दको प्रयोग गरिन्थ्यो, जस्तै ः नातामा पितिआ तर बोलाउँदा काका, चाचा, नुनु, बडका बाबु आदि भन्नु पर्छ । अङ्ग्रेजी भाषिक औपनिवेशीकरणले अब जम्माजम्मी मम, ड्याड, अङ्कल, अन्टीमा ती सबै हाम्रा मौलिक शब्दलाई विस्थापित गरिसकेको मैले देखिरहेको छु । पुरानो उत्पादन पद्धतिलाई नयाँ नयाँ यान्त्रिक उत्पादन पद्धतिले विस्थापित गरिसकेपछि पुरानो परिवारको संरचना पनि ध्वस्त भएको हो ।
अतः उत्पादन प्रणाली र समाजसँग भाषाको कुनै सम्बन्ध छैन भन्नु बिल्कुलै असत्य संभाषणबाहेक अरू केही पनि होइन । त्यसैले भाषा बचाउन उत्पादन प्रणालीमा हुने परिवर्तन पनि मौलिक हुनु जरुरी छ र अमौलिक भए पनि तिनलाई आफ्नै भाषाका शब्दले परिभाषित गर्नुका साथै विरानो भाषाका शब्दलाई पनि आफ्नै अनुसार तद्भवीकरण गर्नु पनि आवश्यक छ । त्यसका लागि शिक्षा पद्धतिको मौलिक विकास अत्यावश्यक छ; जो हामीकहाँ २०२८ सालदेखि सुरु भई २०४६ सालदेखि अङ्ग्रेजी शिक्षा प्रणालीको अन्धानुकरणले त्यसलाई क्षतविक्षत पारिसकेको छ ।
शिक्षामा निजीकरण गर्ने वा नगर्ने विषयमा तर्क–वितर्क गर्न सकिन्छ तर राज्यले तिनलाई मौलिक शिक्षा नीतिले निर्देशित र नियमन गर्ने कुरोमा कुनै विवादको आवश्यकता छैन । यसो हुनुपर्नेमा एकातिर राज्यले अनिवार्य र निःशुल्क शिक्षा नीति लागु गर्न खोजेको छ भने अर्कातिर अति महँगो शुल्कमा विरानो भाषामा विरानो शिक्षा पद्धति निजीकरणले संस्थागत विद्यालयको नाममा भित्र्याएको पनि घाम जत्तिकै छर्लङ्ग छ । मन्टेश्वरी स्कुलको नाममा शैशव अवस्थामा बच्चालाई आमाबुवाबाट टाढा राखी अङ्ग्रेजी भाषाका साथै मनोवैज्ञानिक ढङ्गले एउटा विश्वासलाई विस्थापित गरी अर्कै विश्वासतिर डो¥याउनु कति जायज छ त ?
त्यति मात्रै हैन, औपचारिक कक्षा नेपाली विद्यार्थीलाई अङ्ग्रेजीमा हुनु आफैँमा बाल मस्तिष्कविरुद्धको अपराध हो भने चर्पी जाँदा भुलवश नेपाली बोल्दा नेपालमै दण्डित हुनुपर्ने भाषिक मानव अधिकार र मानवताविरुद्धको अपराध त्यस्ता स्कुलले गरिरहेका छन् । जब कि हाम्रो संविधानले अङ्गीकार गरेको भाषा नीति र शिक्षा ग्रहणको अवधारणाले मातृभाषामा शिक्षाको आरम्भ गर्न स्पष्ट निर्देश गरेको छ । तसर्थ यो समग्रमा शिक्षाविरुद्धको अपराध पनि हो किनभने एउटा शिशुले आफ्नो आमाबुवा र परिवारका सदस्यबाट आफ्नो मातृभाषासँगै पाएको ज्ञान वा शिक्षाबाट यो संविधानविरोधी शिक्षाभ्यासले सबैभन्दा पहिले तिनलाई शून्यीकरण गरी अज्ञानी वा अशिक्षित बनाउने धृष्टता गरिएको ठहर्छ ।
शिक्षाभ्यासले देशभित्र सबैभन्दा सबल नेपाली भाषा नै सुरक्षित छैन भने नेपालीतर मातृभाषाको के हालत हुन्छ ? उत्पादन प्रणालीमा भएको द्रुत वैदेशीकरणका बारेमा माथि उल्लेख भइसकेकै छ । तसर्थ जब हाम्रो उत्पादन प्रणाली, शिक्षा प्रणाली, हाम्रो मौलिक विश्वास पद्धति आदि सबै हाम्रो पकडबाट टाढिन्छ भने के हाम्रो भोजपुरी समाज वा मैथिल समाज वा नेपाली समाज वा समग्रमा हाम्रो समाजको मृत्यु बाँकी रहन्छ र ? तसर्थ कुनै भाषा लोप हुँदा त्यस भाषाको प्रयोक्ता समाजको पनि मृत्यु हुने तथ्य जोसेफ स्टालिनले उठाउनुभएको सत्य साँचो हो । किनभने हाम्रो भाषा मर्दा हाम्रो समाजले निर्माण गरेको जीवनशैली, विश्वास पद्धति, हर्ष र शोक अभिव्यक्तिको शैली सबै ध्वस्त भइसकेका हुन्छन् ।
विश्वमा मरेर पनि पुनर्जीवन पाउने भाषाका रूपमा हिब्रुको उदाहरण हाम्रोअगाडि ताजै छ । तसर्थ हाम्रो सामाजिक मृत्युलाई हाम्रो सबै मातृभाषाको संरक्षण गर्ने नीतिलाई व्यवहारमा लागु गरेर रोक्न सकिन्छ । यसका लागि पहिलो सर्त हो– नेपाली मातृभाषी समाज नेपालीतर मातृभाषा र मातृभाषीहरूको जगेर्नामा सबैभन्दा पहिले अग्रसर हुनु । यो काम शिक्षा शिक्षणको अभ्यासलाई मन–वचन–कर्मले बहुभाषी बनाई शिक्षाको सुरुवात मातृभाषाबाट अनिवार्य गराएर सुरु हुन्छ । शिक्षाको सुरुवात मातृभाषाबाट गर्ने अभ्यास थालेपछि नेपाली मातृभाषीलाई सबैभन्दा पहिले बढी फइदा हुन्छ । दुई वा तीन वर्ष मातृभाषामा शिक्षाको अभ्यास गराएपछि धरातलीय आवश्यकता अनुसार क्रमशः आमसञ्चारका अन्य भाषामा शिक्षा दिने र मातृभाषालाई विषयका रूपमा निरन्तरता दिने अभ्यास फलदायी हुन्छ ।
शिक्षा मन्त्रालयले भाषा आयोग, नेपाल प्रज्ञा–प्रतिष्ठान र भाषा संरक्षण संवर्धनका लागि सरकारी–गैरसरकारी स्तरमा कार्यरत निकाय र सङ्घ संस्थासँग अविलम्ब संवादको थालनी गर्नु पर्छ । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आ–आफ्ना अन्तर्गतका सम्बन्धित निकायलाई हाम्रो उत्पादन प्रणालीमा प्रयोग हुने यन्त्र, प्रविधि र प्रक्रियाका लागि हाम्रै मातृभाषामा पारिभाषिक शब्दावलीको निर्माण गर्न निर्देशित गर्नु पर्छ र गराउन थाल्नु पर्छ । जनशक्तिको छनोटका लागि सरकारी स्तरमा कार्यरत सबै आयोगहरूले आफ्ना लिखित प्रश्नपत्रका साथै मौखिक अन्तर्वार्तामा बहुभाषिकताको अभ्यास तत्काल सुरु गर्नु पर्छ ।
देशमा सञ्चालित सबै विश्वविद्यालयले कम्तीमा स्नातक तहसम्म एउटा मातृभाषा विषय अनिवार्य रूपले पाठ्यक्रममा समावेश गर्नु पर्छ । त्यसका साथै परीक्षामा भाषाबाहेकको विषयमा अङ्ग्रेजीमा मात्रै प्रश्नपत्र बनाउने अभ्यासलाई विद्यार्थीको रुचि अनुसार परीक्षा फाराम भराउँदा नै उल्लेख भएका अन्य भाषाहरूमा पनि प्रश्नपत्र बनाउन लगाउनु पर्छ । यी सबै उपायसँगै जोडिएको विषय हो– नियत र मानसिकता । हामी नियत र मानसिकताका कारणले सबथोक गुमाउने सँघारमा उभिएका छौँ ।
२०१४ सालदेखि शिक्षामा सुरु भएको एकभाषिकता तथा नेपाल अधिराज्यको संविधान, २०१५; नेपालको संविधान, २०१९ र नेपाल अधिराज्यको संविधान, २०४७ को साथै २०२८ सालमा ल्याइएको राष्ट्रिय शिक्षा पद्धतिको योजना र पञ्चायती स्वेच्छाचारी राजशाहीले जन्माएको ‘एक भाषा एक भेष’ को नीतिलाई राज्यको स्थायी संयन्त्रले अझै लम्ब्याउने नियत बेला बेलामा देखाउँदै आएको छ । त्यसैले राष्ट्रिय भाषा नीति सुझाव आयोग, २०५० ले सिफारिस गरेको मातृभाषा शिक्षालाई मातृभाषा विषयमा झार्नेदेखि लिएर अहिले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा पनि बहुभाषिकताविरोधी नियत स्पष्टै रूपमा बाहिर आएको देखिन्छ । आफ्नै भाषामा स्तरीय शिक्षा पाउँदा आवश्यकतानुसारको भाषा कुनै पनि बेला सिकेर दक्ष हुन सकिन्छ तर आफ्नै शिक्षा विरानो भाषामा सुरु भएको छ भने स्वयं मातृभाषा नै कमजोर हुने र त्यसपछि अर्को भाषाको सिकाइ पनि दरिलो नहुने अनुभव नै वैश्विक रूपमा र हाम्रै परिवेशमा पनि तितो सत्य साबित भएको छ ।