फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १५ गते । पोखरा उपत्यकालाई मध्य भागबाट चिरेर बग्ने सेती नदीले पोखरावासीलाई बारम्बार स्तब्ध बनाइरहन्छ । कतै देखिएर र कतै लुकेर बग्ने सेतीको खोच पोखरेलीलाई सम्पदा कम र खतरा बढी साबित भएको छ ।
अघिल्लो वर्ष यो खोचमा आठ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको हालसम्ममा १० जनाको जीवन खोचमै समाप्त भएको छ ।
गाईघाटबाट करिब सात किलोमिटर महानगरको मुख्य बस्ती हुँदै बग्ने सेती नदी सीतापाइलामा पुगेपछि खुला देखिन्छ । यो नदी गाईघाट, फूलबारी, रामघाटदेखि सीतापाइलासम्म गरी तीन ठाउँमा गहिरो गल्छी बनाएर बगेको छ ।
नदी आसपास पूर्वाधार बनाउन महानगरले मापदण्ड त बनाएको छ तर किनारबाटै घर ठडिएका छन् । ठाउँ ठाउँमा भूमिहीनका बाक्ला अव्यवस्थित बस्तीसमेत छन् । किनारका घरले फोहोर पानी र घरायसी फोहोरसमेत नदीमै विसर्जन गरिरहेका छन् ।
घटना र दुर्घटना
१२ वर्षअघि वैशाख २३ गते आएको सेती नदीको बाढीमा परी ६५ जनाले ज्यान गुमाएका थिए । गत वर्ष यही नदीको गहिरो गल्छीमा यति एयरको विमान खस्दा ७२ जनाको ज्यान गएको थियो ।
२०३८ सालको चर्चित नमिता सुनिता काण्डको घटनास्थल पनि यही खोच हो । काठमाडौँबाट पोखरा घुम्न आएका नमिता र सुनिता बेपत्ता भएको दुई साताभित्र शव भेटिएको थियो । देशैभर तरङ्ग सिर्जना गरेको नमिता सुनिता काण्ड जस्तो चर्चा नभए पनि बारम्बार सेतीमा घटना हुने गरेका छन् ।
२०६५ असार १० गते साढे दुई वर्षीया बालिका आराधना प्रधान सेती खोचमा खस्नुभयो । ६० फिट गहिरो खोचबाट १२ वर्षीय बालक कमल नेपालीले उहाँलाई निकाल्नुभएको थियो । सेतीमा खस्ने विरलैको भाग्य मात्र आराधनाको जस्तो हुन्छ, धेरैजसोको मृत्यु हुने गरेको छ ।
मानिस सेती खोचमा खसेको सूचना आएपछि प्रहरीले खोजी त सुरु गर्छ तर प्रहरीसँग यसका लागि छुट्टै तालिमप्राप्त उद्धार टोली छैन । प्रदेश प्रहरी गणको उद्धार टोलीलाई अनुरोध गर्ने गरिएको छ । त्यहाँ उद्धारका लागि सशस्त्र र नेपाली सेनाको टोलीलाई समेत अनुरोध गरी संयुक्त रूपमा उद्धार गरिँदै आएको छ । सेतीका खोच यति साँघुरा छन् कि धेरैजसो ठाउँमा दुवै किनारका रुखले छोपेर नदी नै देख्न मुस्किल पर्छ । नदीछेउमा ठाउँ ठाउँमा गहिरा भ्वाङ छन् ।
सेतीमा खसेका एकाधबाहेकलाई उद्धार टोलीले मृत निकाल्ने गरेको छ । खोजी गर्न प्रहरीले बारम्बार सेती नदीको बाँध खोली पानीको बहाव बढाउनुपरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले भन्नुभयो, “केही साताअघि हामीले एक बालकले पुलबाट हामफालेको सिसी क्यामेरामा देख्यौँ । तल बजारिएको ठाउँमा रगत र गिदी पनि भेटियो, शव फेला परेन ।” करिब दुई किमी खोच क्षेत्र ढाकिए यस्ता घटना धेरै हदसम्म कम हुने उहाँले औँल्याउनुभयो ।
संरक्षण र सौन्दर्यीकरणको खाँचो
भूगोलविद् प्राडा कृष्ण केसीले सेती नदीको खोच, खुला ठाउँ र वरिपरिको क्षेत्रलाई संरक्षणपछि सौन्दर्यीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “पहिला यसको संरक्षण जरुरी छ । त्यसपछि सौन्दर्यीकरण गर्नु पर्छ । यो आकर्षक र अद्वितीय पर्यटकीय गन्तव्य बन्न सक्छ,” उहाँले थप्नुभयो । अमेरिकी नागरिक डेनियल सी टेलर र जेनिफर इडले सन् १९७१ मा सेती नदीमा ¥याफ्टिङ गरेपछि नदी र खोचतिर मानिसको दृष्टि पुगेको थियो ।
प्रहरी प्रमुख थापाले खुला र असुरक्षित सेती खोच चुनौती बनेको बताउनुभयो । “सेतीमा एउटाको खोजी गर्दा अर्काको लास पनि भेटिएका छन् । बजारको बिचमा खुला छाडिएको गल्छीले बारम्बार दुःख दिइरहेको छ । खोच छोपिदिए, सामुदायिक साइरन राख्न सके मानिसको ज्यान बच्थ्यो,” उहाँले भन्नुभयो ।
अन्नपूर्ण हिमालबाट उत्पन्न भएर दक्षिण पूर्वतर्फ बग्ने सेती केही घाटमा नदीजन्य पदार्थ निकाली मानिसको जीविकाको माध्यम बनेको छ । यो खोचलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने बारम्बार कुरा उठे पनि त्यसका लागि काम भएको देखिन्न । पोखरा महानगरपालिका–१७, रातोपहिरोमा सेतीको केही खुला खोचमा बनेको गो बन्जी नेपालले मात्र यसको उपयोग गरेको छ । सेतीको गल्छी बन्जीको सौन्दर्य र आकर्षण बनेको स्थानीय मीना बराल लामाले बताउनुभयो ।