• २५ वैशाख २०८१, मङ्गलबार

खराब नतिजा बिर्सेर वेस्ट इन्डिजविरुद्ध अगाडि बढ्छौं : कप्तान रोहित

blog

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल । तस्बिरः क्यान

काठमाडौं, वैशाख १४ गते। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० श्रृंखलामा ध्यान केन्द्रित रहेको धारणा राख्नुभएको छ।

नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृंखला खेल्न लागेको हो। शुक्रबार श्रृंखला अघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्पm केन्द्रित रहेको बताउनुभएको हो। नेपालका कप्तान  पौडेलले ओमानमा नेपालका लागि सुखद् नरहे पनि यो श्रृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गर्नुभएको छ।

उहाँले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको धारणा राख्नुभयो। ओमानको एसिसी प्रिमियर लिगबाट आफ्नो टोलीमा केही निराश रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राख्नुभयो। वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँबाट आफ्ना खेलाडीले प्रमाणित गर्ने अवसर रहेको बताउनुभयो।



उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गर्नुभयो। कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गर्नुभयो। नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इण्डिज क्रिकेटसँगको श्रृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गर्नुभयो । प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभयो छ।

ब्याटिङ युनिट आशाभन्दा कम देखिए पनि दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्का लगायत केही सकारात्मक पक्ष ओमानमा आएका प्रशिक्षकको बुझाइ छ। मोन्टीले टियु मैदानमा आफ्नो टिमले केही सुधार गर्ने धारणा राख्नुभयो।

वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्र्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो श्रृंखला राम्रो रहने आशा व्यक्त गर्नुभयो।

नेपालको पिच कन्डिसन केही स्लो रहेको पनि उहाँको बुझाइ छ। करिब १५ हजार दर्शकमाझ खेल्ने रमाइलो हुने प्रशिक्षक रेइफरको विश्वास छ। 

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले वेस्ट इण्डिज ‘ए’ सँगको श्रृंखलाका लागि विनोद भण्डारी, लोकेश बम, कमल सिंह ऐरी र सागर ढकाल थपेको बताउनुभयो।