• २३ वैशाख २०८१, आइतबार

दुई हजार पाँच सय ५३ हेक्टर वन क्षेत्र डढेलोले प्रभावित

blog

फाइल तस्बिर ।

मीना कंडेल

कावासोती, वैशाख १३ गते । गर्मीयाम सुरु भएदेखि नवलपुर लगायत देशभर वनमा डढेलो लाग्ने क्रम बढ्दो छ । चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले मानवीय क्षति नभएपनि वन क्षेत्र बढी प्रभावित भएको छ ।

डिभिजन वन कार्यालय नवलपुरका अधिकृत शिशिर लम्सालले नवलपुरमा हालसम्म ८० वटा सामुदायिक वनमा डढेलो लागेको बताउनुभयो । बुधवारसम्मको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न ठाउँमा दुई हजार पाँच सय ५३ हेक्टर वन क्षेत्रमा डढेलो लागेको उहाँले बताउनुभयो ।

चैत महिनामा त्यति नलागेको भएपनि वैशाख महिनाको दोस्रो सातासम्म वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढ्दो छ । हरेक वर्ष सामान्यतया: फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठुलो क्षति गर्दै आएको छ । 

लामो समयसम्म पानी नपर्नु र सुख्खा मौसमले गर्दा बनमा डढेलो छिटो फैलने गरेको अधिकृत लम्सालले बताउनुभयो । जिल्लामा विशेषगरि मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको वन क्षेत्र बढी प्रभावित भएको उहाँको भनाइ छ ।

आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । लम्सालले भन्नुभयो, “जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।” अहिले लागेको डढेलो सतही डढेलो भएपनि यसले साना दाउरा डढेर सखाप बनाएको छ । डढेलोका कारण देवचुली, कावासोती, गैँडाकोट तथा हुप्सेकोट का वन क्षेत्र समेत प्रभावित भएका छन् । स्थानीय उपभोक्ताले विभिन्न साधन प्रयोग गरी आगो निभाउने गरेका उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको बताउनुभयो । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारी लगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।