• २३ वैशाख २०८१, आइतबार

नेपालगन्ज विमानस्थलबाट नौ महिनामा नौ हजार उडान

blog

पश्चिम नेपालकै अति व्यस्त नेपालगन्ज विमानस्थल। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १३ गते। नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्। 

नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालले पश्चिम नेपालसँग राजधानी काठमाडौं र कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न हिमाली र पहाडी जिल्लालाई जोड्ने काम गर्दै आएको नेपालगन्ज विमानस्थलमा उडान बढ्दै गएको बताउनुभयो। 

विमानस्थलबाट चालू आर्थिक बर्ष २०८०/०८१ को चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नौ हजार २५४ उडान भएको उहाँको भनाइ छ। ती उडानबाट एक लाख ७६ हजार ९६२ यात्रु नेपालगन्ज आएको र एक लाख लाख ७८ हजार ८०८ यात्रु यहाँबाट अन्य गन्तव्यमा गएका छन्। 

नौ महिनामा नेपालगन्ज विमानस्थलबाट तीन लाख ५५ हजार ७७० जना यात्रुले आवागमन गरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ। 

नेपालगन्जबाट सबैभन्दा बढी उडान संघीय राजधानी काठमाडौंका लागि हुने गरेका छन्। पोखरासहित पश्चिमका पहाडी र हिमाली जिल्लामा पनि नियमित उडान हुँदै आएका छन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट समेत विभिन्न जिल्लामा हवाइ उडान बृद्धि भएपछि केही हदसम्म नेपालगन्ज विमानस्थलको लोड घटेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ। 

अति व्यस्त नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण तिव्र गतिमा भइरहेको छ। त्यसका लागि २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण लगायतको काम सुरु गरिएको छ। 

नागरिक उडड्यन प्राधिकरणका अनुसार तीन अर्ब रुपियाँको लागतमा नेपालगन्जमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरियालगायत पूर्वाधारको निर्माण भइरहेको छ।