• २५ वैशाख २०८१, मङ्गलबार

गुनासो सुन्न एक घण्टा

blog

सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ।

दैलेख समाचारदाता

दैलेख, वैशाख १२ गते । जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवा लिन आएका सेवाग्राहीका गुनासो सुन्न ‘एक घण्टा’ समय निर्धारण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवा लिन आएका सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी खिमराज भुसालद्वारा ‘एक घण्टा’ समय निर्धारण गरिएको छ । शनिबारबाहेक हरेक दिन १२ बजेदेखि १ बजेसम्म सेवा दिएका सेवाग्राही र सेवा लिन बाँकी रहेका सेवाग्राहीसँग कार्यालयले प्रवाह गरिरहेको सेवा र त्यसको प्रभावकारितासम्बन्धी नागरिकका गुनासो सुन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकरीद्वारा ‘सेवाग्राहीसँग एक घण्टा कार्यक्रम’ सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रजिअ भुसालले सेवा प्रवाह सहज बनाउन, सबै नागरिकको सहज पहुँचमा प्रमुख जिल्ला अधिकारीलाई पु¥याउन नागरिकका समस्यालाई आफैँ सम्बोधन गर्नका लागि यो कार्यक्रम राखिएको बताउनुभयो । उहाँले कर्मचारीको व्यवहारसम्बन्धी सेवाग्राही नागरिकसँग बुझ्ने, स्थानीय तहमा देखिएका बेथिति, विकृति, सामाजिक कुसंस्कार, घरेलु हिंसा, नागरिकता संशोधन, सार्वजनिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विषयमा कार्यक्रममार्फत जानकारी लिने पनि बताउनुभयो । 

उहाँले नागरिक बडापत्रमा लेखेर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्ने र यो अभियान सबै सरकारी कार्यालयमा सञ्चालन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । प्रत्येक कार्यालयमा यो अभियान सञ्चालन गर्न कार्यालय प्रमुखको बैठकबाट निर्णय गराएर त्यसलाई कार्यान्वयन गर्न पहलसमेत गरिने उहाँको भनाइ छ ।  भगवतीमाई गाउँपालिका–५ का कृष्णबहादुर विकले पहिलो पटक प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्न पाएको र आफ्नो कुरा राख्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिडियो सापले हाम्रा गाउँघरमा भएका विकास निर्माणका गतिविधि, विकृति, विसङ्गति, जातीय विभेदलगायतका कुरा पनि सोध्नुभयो । मैले जे देखेको थिएँ, त्यही भनिदिएँ ।” 

जिल्ला प्रशासन कार्यालयबाट मात्र नभएर जिल्लामा रहेका सरकारी कार्यालयबाट प्रवाह गरिएको सेवा, जिल्लाको शान्तिसुरक्षा, विकास निर्माण, भ्रष्टाचारलगायतका विषयमा नागरिकले सहजै कुरा राख्न सक्ने वातावरण बनाउन यो अभियान महìवपूर्ण हुने नागरिक समाजका अगुवा यामराज थापाले बताउनुभयो ।