• २४ वैशाख २०८१, सोमबार

रोनाल्डोका सन्तान कतार जाने

blog

कतारलाई उपहार दिइने हात्ती

वसन्त पराजुली

नारायणगढ, वैशाख १२ गते । रोनाल्डो, फुटबल र कतार यी तीन विश्वमा चर्चित नाम हुन् । पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व विख्यात छन् । फुटबल आफैँ लोकप्रिय खेल हो र कतारले सन् २०२२ को विश्वकपको सफल आयोजना गरिसकेको छ । अब यी तीनसँग नेपाल र हात्तीको पनि सम्बन्ध जोडिन लागेको छ । 

कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको नाम रोनाल्डो रहेको छ ।

नेपालले कतारलाई रोनाल्डोका सन्तान उपहार दिनु मात्र सम्बन्धको कडी होइन, नेपालले उपहारमा पाएका हात्तीबाट विस्तार भएको बथानबाट दुई हात्ती उपहारमा नै दिनु नेपालका लागि गर्वको विषय पनि बनेको छ । यो घटना नेपालले अन्तर्राष्ट्रिय जगत्लाई हात्ती उपहारमा दिन लागेको पहिलो पनि हो ।

सैँतिस वर्षअघि मित्रराष्ट्रहरू उपहारमा प्राप्त हात्ती लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्रमा जन्मेका दुई हात्ती कतारलाई दिन लागिएको हो । २०४४ मा भारतबाट १६, म्यानमारबाट दुई र थाइल्यान्डबाट दुई गरी उपहार पाइएका २० वटा हात्ती राखेर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहा चितवनमा जन्मी हुर्की गरेका दुई हात्ती कतारलाई उपहार दिन लागिएको हो ।

तिनै २० हात्तीबाट प्रजनन केन्द्रमा ६२ वटा वंश विस्तार भएका छन् । तीमध्ये ५५ वटा तालिम प्राप्त छन् र सात वटा छावा नै छन् भने चार वटाको मृत्यु भएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले उपहार दिने हात्तीलाई सबै सिप सिकाइएको जानकारी दिनुभयो । “पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकलीलाई आवश्यक सबै सिप सिकाइएको छ,” उहाँले भन्नुभयो । 

प्रजनन केन्द्रमा जन्मेका छ वर्षकी रुद्रकली र पाँच वर्षको खगेन्द्रप्रसाद कतार पठाउन लागिएका हुन् तर तिनका बाउ भने प्रजनन केन्द्रमै रहेका होइनन् । प्रजनन केन्द्रमा रहेकी आमा पूजाकलीबाट २०७५ असोज २३ मा जन्मेकी रुद्रकली र २०७६ असोज ८ गते कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद दुवैको बाउ भने जङ्गली हात्ती रोनाल्डो रहेको छ । 

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले कतारलाई दिन लागिएका दुवै हात्ती रोनाल्डोका नै सन्तान रहेको जानकारी दिनुभयो । “अहिले प्रजनन केन्द्रमा जन्मने अधिकांश हात्तीका बच्चा जङ्गलीकै सन्तान हुन्,” उहाँले भन्नुभयो, “प्रजनन केन्द्रमा रहेका भाले हात्तीलाई जङ्गली हात्तीले आक्रमण गरेर मारेपछि अहिले त्यहाँ जङ्गलीकै भर पर्नुपर्ने बाध्यता छ ।”

२०५७ सालमा जङ्गली हात्तीको आक्रमणमा प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद मरेको थियो । यसपछि ऐरावतगज र शेरप्रसादलाई पनि जङ्गली हात्तीले आक्रमण गरी मारेको प्रजनन केन्द्रले जनाएको छ । त्यसपछि त्यहाँका अधिकांश सन्तान जङ्गली बाउकै हुन् ।

जङ्गलीमा पनि अधिकांश रोनाल्डोका नै सन्तान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । रोनाल्डोका अतिरिक्त प्रजनन केन्द्रका ढोईसँग धु्रवे, गोविन्देलगायतका जङ्गली हात्तीले पनि रासलीला मनाउने गर्दछन् । यसअघि प्रजनन केन्द्रका ढोईसँग पल्केको नाना पाटेकर नामको हात्ती भने मरेको बताइन्छ । चार दशकभन्दा बढी समय हात्तीकै स्याहार सुसारमा सक्रिय प्रजनन केन्द्रका पूर्वप्रमुख रामेश्वर चौधरी जङ्गलीले कतिपय अवस्थामा ढोईलाई जङ्गलमै लाने र कतिपय प्रजनन केन्द्रमै आएर सहवास गर्ने गरेको अनुभव सुनाउनु हुन्छ । 

“वयस्क ढोई जब रजस्वला भएर चौलानी जस्तो रातो मिसिएको तरल पदार्थ फाल्छे अनि बुझ्नु पर्छ यसले मत्ता खोजेकी छे,” उहाँले भन्नुभयो, “रजस्वला भएको चौथो वा पाँचौँ दिनदेखि योनी सुन्निएर आउँछ । यहीबेला जङ्गली मत्ता प्रजनन केन्द्रमै आएर तीन चार दिनसम्म बसी सहवासमा रहन्छ ।” ढोई सहवासका लागि तयार भएको जङ्गली हात्ती आफैँले बुझ्ने पनि उहाँले बताउनुभयो । 

संरक्षण कूटनीति

कतारलाई उपहार स्वरूप प्रदान गर्न लागिएका हात्ती संरक्षण कूटनीति अन्तर्गत दिन लागिएको हो । नेपालले यस्तो कूटनीतिमा हात्ती प्रदान पहिलो पटक गरेको भए पनि गैँडालगायत अन्य विभिन्न वन्यजन्तु भने धेरै दिइसकेको छ ।

उपहारमा दिइने भए पनि सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय महासन्धि अनुसार त्यसका लागि सम्झौता र साइटिस अनुमति आवश्यक हुन्छ । कतार पठाइन लागेका हात्तीका सम्बन्धमा सम्झौता भइसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उपहार सम्बन्धमा वन मन्त्रालयमा सम्झौता भएपछि मात्रै कहिले पठाइने भन्ने सम्बन्धमा टुङ्गो लाग्ने बताउनुभयो । 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले हात्ती लैजान कतारका तर्फबाट साइटिस अनुमतिपत्र नआइपुगेका कारण सम्झौता पनि रोकिएको बताउनुभयो । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय महासन्धि अनुसार वन्यजन्तु तथा त्यसका आखेटोपहार ओसार पसार गर्न प्रतिबन्ध छ । वन्यजन्तु उपहार दिने सम्बन्धमा भने साइटिसको अनुमति लिएर ओसार पसार गर्न पाउने कानुनी व्यवस्था छ । “सबै प्राविधिक र प्रशासनिक विषय मिलाउन केही समय लाग्छ,” प्रवक्ता ढुङ्गानाले  थप्नुभयो । 

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको छ ।