• २२ वैशाख २०८१, शनिबार

'गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारको पहल आवश्यक'

blog

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले नेता घनश्याम भुसालसँग आयोजना गरेको छलफल कार्यक्रम । तस्बिर: लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, वैशाख ११ गते । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनतर्फ सरकारले पहलकदमी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सरकारले गम्भीररुपमा नलिँदा विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको समेत बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको रुपन्देही क्षेत्रका आर्थिक मुद्दा समस्या र समाधान विषयक छलफल कार्यक्रममा भुसालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मेरो तर्फबाट यो विमानस्थल चल्छ जस्तो लाग्छ र चलाउनुपर्छ । राज्यको लगानी जस्तै निजी क्षेत्रको लगानी पनि उत्तिकै छ । कमसेकम दिनमा पाँच–दशवटा हवाईजहाज चलाउन सुरु गर्नुपर्‍यो । पाँचवटा चलेपछि त्यो बढ्दै जान्छ ।’

पूर्वमन्त्री समेत रहनुभएका भुसालले विमानस्थलको मुद्दा आफ्नो पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, "समस्या समाधानका लागि यहाँहरूले आन्दोलन गरिरहनुभएको छ । चिच्याइरहनुभएको छ । म यहाँहरूको साथमा छु । राजनीतिक नेतृत्वले पनि आफ्नो दायित्व अझ राम्रोसँग निर्वाह गर्नुपर्छ जस्तो लाग्छ ।"

नेता भुसालले राजनीतिक रूपमा आफू केही समय ‘डिस्टर्ब’ भएको र व्यवस्थित हुन नपाएको भन्दै अब यहाँ (रुपन्देही) का समस्या समाधान गर्न  लागिपर्ने बताउनुभयो । उहाँले आफू एक्लैले समस्या समाधान गर्ने कुरा नगर्ने र यस्तो भन्न पनि नहुने बताउनुभयो । भुसालले आफूले समस्या समाधान गर्न नसके भैरहवाको चोकमा आएर भन्ने बताउनुभयो । उहाँले भन्नुभयो, "यो विमानस्थलसँग म पनि सम्बन्धित छु । म विगतमा यही क्षेत्रबाट सांसद थिए । २०५४ सालमा २०५ सांसदमध्ये १७६ सांसदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्दै हस्ताक्षर गरेर सरकारले बुझाएका थियौँ । १७६ जनामा हस्ताक्षर गर्नेमध्ये म पनि एक हुँ ।” उहाँले मुलुकमा आर्थिक शिथिलता रहेको पनि बताउनुभयो ।

कार्यक्रममा उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि राज्यले ध्यान नदिएको गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल सञ्चालन गर्नेतर्फ सरकार र राजनीतिक नेतृत्वको ध्यान पुग्न नसकेकाले पटक-पटक दबाबमूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विमानस्थल नियमित र पूर्ण सञ्चालनतर्फ सरकार उदासीन रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले विमानस्थल सञ्चालनका लागि सङ्घ संस्था, नागरिक समाजले गुहार गरिरहेको भए पनि राज्यले नसुनेको बताउनुभयो । कार्यक्रममा नाट्टाका लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष सागर अधिकारी, सिद्धार्थ सञ्जालका महासचिव सञ्जय बजिमय, लुम्बिनी निर्माण व्यवसायी सङ्घकी अध्यक्ष मञ्जु भुसाल, सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, उद्योग व्यापार सङ्गठन रुपन्देहीका उपाध्यक्ष राममिलन यादव, उद्योगी चन्द्रमान श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार कुल प्रसाद न्यौपाने, सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।