• ५ जेठ २०८१, शनिबार

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : नेता भट्टराई

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराई । फाइल तस्बिर

ताप्लेजुङ, वैशाख २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरूबिचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । सत्ता साझेदार दलहरूबिचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उहाँले बताउनुभयो । 

पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरू अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । छिमेकी देशहरूमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरूलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उहाँको भनाइ छ । कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उहाँले बताउनुभयो । 

वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उहाँको भनाइ थियो । उहाँले सत्तामा सामेल ठुलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरूलाई सन्तुष्ट बनाएर अघि बढ्ने जानकारी दिनुभयो । कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा ध्रुवीकरण भनेर भन्ने गरे पनि त्यो नभएको उहाँले स्पष्ट पार्नुभयो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी विवादमा परेको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको सन्दर्भमा उहाँले संसदीय छानबिन समिति अन्तिम हतियार भएकाले तत्काल प्रयोग गर्न नहुने बताउनुभयो । रासस