• २१ वैशाख २०८१, शुक्रबार

द्वारिकाका नाममा करोडौं खर्च, स्मारक अलपत्र

blog

जिर्ण अवस्थामा रहेको द्वारिकादेवी र मीनबहादुर चन्दको स्मारक । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, वैशाख ११ गते । द्वारिकादेवी ठकुरानीका नाममा प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरि करोडौं रुपियाँ खर्च गरे पनि उहाँको स्मारकको जीर्णोद्धार गर्न कुनै कार्यक्रम नल्याएपछि सालिक ढल्ने अवस्थामा पुगेको छ । 

द्वारिकादेवीका नाममा सुदूरपश्चिम प्रदेश सरकारले महिला सशक्तिकरण कार्यविधि बनाएर एक करोड ८० लाख रुपियाँको तालिममा खर्च गरिसकेको छ । मेलौली नगरपालिकाले द्वारिकादेवी स्मृति भवन निर्माणमा लाखौं रुपियाँ खर्च गरिसकेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा पनि पाँच लाख रुपियाँ खर्च गर्दैछ । बजेट खर्च भएपनि स्मृति भवन पूरा भएको छैन भने जिर्ण अवस्थामा रहेको स्मारक मर्मत गर्ने कुनै कार्यक्रम आएको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले द्वारिकादेवीका नाममा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने कार्यविधि पास गरेर एनजिओमार्फत आ.ब. २०७५-०७६ मा एक करोड ८० लाख रुपियाँ खर्च गरे पनि हालसम्म कार्यक्रमको उपलब्धी मापन भने हुनसेको छैन । 

द्वारिकादेवी ठकुरानीका नाममा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा २० लाख रुपियाँका दरले एजजिओमार्फत एक करोड ८० लाख रुपियाँ खर्च गरेको थियो । 

महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बेला अख्तियारमा उजुरी परेपछि कार्यक्रमको उपलब्धी मापन हुन नसकेको मन्त्रालयका महिला शाखाका जयन्ती गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “उजुरी परेपछि कार्यक्रमको उपलब्धी मापन हुने सकेन । बजेट त सकियो तर, बिचमा उजुरीपरेपछि कुन–कुन महिलाले के कार्यक्रम पाए ? भन्ने कुराको मापन हुन सकेन । बिवाद आउनथालेपछि हालः द्वारिकादेवीका नाममा मन्त्रालयबाट कुनै पनि कार्यक्रम सञ्चालन भएका छैनन् ।”

द्वारिकादेवीका नाममा स्मृति प्रतिष्ठान हुँदहुँदै प्रदेश सरकारले एनजीओमार्फत महिलाका नाममा तालिम चलाएर बजेट सक्ने काम गरेको सहिद द्वारिकादेवी ठकुरानी तथा मीनबहादुर चन्द स्मृति प्रष्ठिानका अध्यक्ष सुरेन्द्रबहादुर चन्दले आरोप लगाउनुभयो ।    

उहाँले मेलौली नगरपालिका–१, हरिपुर बजारको चौराहीमा रहेको सहिद द्वारिकादेवी ठकुरानी र उहाँका भतिजा मीनबहादुर चन्दको स्मारक जिर्ण भएर ढल्ने अवस्था आउँदा पनि कतैबाट चिन्ता र चासो नदेखाईएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो कुरा त मेलौली नगरपालिकाको नाम द्वारिकादेवी नगरपालिका हुनुपर्ने थियो । त्यसो हुन सकेन । द्वारिकादेवीको स्मारक मेलौली नगरपालिकाको कार्यपालिकाका अगाडि छ । यस्तो हालत हुँदा पनि स्थानीय सरकारको दृष्टि पुग्न सकेको छैन ।”

गुनासो थप्दै उहाँले भन्नुभयो, “हामीले सहिद द्वारिकादेवी ठकुरानी तथा मीनबहादुर चन्द स्मृति प्रष्ठिान गठन गरेरले २०६५ सालमा स्मारक स्थापना गरेका हौं । स्थानीय तहको सरकार गठन भएपछि सडक बिस्तार गर्दा स्मारकको खामो हल्लाए । त्यसमाथि बजार बिस्तार हुँदा स्मारकको भूभागसमेत अतिक्रमणको चपेटामा परेको छ । द्वारिकादेवीका नाममा कार्यक्रम गर्न बजेट आउने तर, स्मारक जोगाउन कतैबाट चासो नदेखाउँदा निकै दुःख लागेको छ ।”

द्वारिकादेवीका नामा महेन्द्रनगर र मेलौलीमा दुई वटा स्मृति प्रष्ठिान हुँदाहुँदै प्रदेश सरकारले एनजीओमार्फत करोडौं रुपियाँ खर्च गरेको द्वारिकादेवी स्मृति प्रष्ठिान मेलौलीका अध्यक्ष हिमालयबहादुर चन्दले बताउनुभयो । 

द्वारिकादेवीको स्मारक जीर्णोद्धारका विषयमा मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बिष्ट बोहराले आगामी आर्थिक वर्षमा आवश्यक बजेट ल्याउने बताउनुभयो । चालु आर्थिक वर्षमा द्वारिकादेवीको घर नजिकै स्मृति भवन निर्माणका लागि नगरपालिकाले पाँच लाख बजेट खर्च गरिरहेको उहाँले जानकारी दिनुभयो । 

पहिलो महिला मन्त्री

द्वारिकादेवी ठकुरानी नेपालमा पहिलो पटक २०१५ सालमा भएको आम निर्वाचनबाट निर्वाचित पहिलो महिला सांसद र मन्त्री हुनुहुन्थ्यो । द्वारिकादेवी ततकालीन प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वको सरकारमा ‘स्वास्थ्य र स्वायत्त शासन सहायकमन्त्री’ भएर काम गर्नुभएको थियो । सहायकमन्त्री हुँदा उहाँले नेपाल परिवार नियोजन सङ्घको स्थापना गरेर पहिलो सस्थापक अध्यक्षसमेत बन्नु भएको थियो  । 

द्वारिकादेवीले प्रजातन्त्र स्थापनाका लागि योगदान पु¥याउनु भएको थियो । प्रजातन्त्रका लागि उहाँले लामोसमय भारतमा निर्वासित जीवन बिताउनुुभयो । द्वारिकादेवी निर्वासित हुने बेला उहाँका भतिजा मीनबहादुर चन्द पनि द्वारिकादेवीसँगै सङ््घर्षमा हुनुहुन्थ्यो । द्वारिकादेवीको २०५९ साल मङ्सिर २४ गते निधन भएको थियो । उहाँको निधन भएको छवर्षपछि बैतडीको मेलौलीमा द्वारिकादेवी र मीनबहादुर चन्दको स्मारक स्थापना भएको थियो । यद्यपि, स्मारक अहिले जिर्ण अवस्थामा रहेको छ ।