• ८ मंसिर २०८१, शनिबार

‘उपलब्धिको समीक्षा गर्दै अघि बढ्नु पर्छ’

blog

काठमाडौँ, वैशाख ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको मूर्त तथा अमूर्त सम्पदाको विकासमा प्राप्त गरेका उपलब्धिको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मन्त्री तामाङले गीत/सङ्गीत, नाटक र नृत्य विधाको उन्नतिका लागि प्रतिष्ठानले पाएका जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा पनि सजग हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री तामाङले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो । 

उहाँले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको भवन निर्माणका लागि आवश्यक बजेटका सन्दर्भमा मन्त्रालय सकारात्मक रहेको समेत बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले सीमित स्रोत र साधनको सदुपयोगसहित निजी क्षेत्रसँगको सहकार्यमा गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य गरी सङ्घ र प्रदेशस्तरमा कार्य गर्ने योजना रहेको बताउनुभयो । 

सो अवसरमा नाटक, नृत्य र सङ्गीतका क्षेत्रबाट राष्ट्रिय विकासमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरू नारायणदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, वीरेन्द्र हमाल, रामकृष्ण दुवाल, भीम मल्ल कुमाखी, माधव प्रधान, सङ्गीता प्रधान, कुन्ती मोक्तान, अविनाश श्रेष्ठ, अशेष मल्ल, रूपकुमार राई, बद्री अधिकारी र विष्णु अधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

प्रज्ञा पुरस्कार घोषणा 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले गीत सङ्गीत तथा नाट्य क्षेत्रमा योगदान दिने कलाकारलाई पुरस्कार प्रदान गर्ने भएको छ । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० घोषणा गरिएको छ । 

रङ्गमञ्चतर्फ हरिहर शर्मा, शास्त्रीय सङ्गीतमा चन्दनकुमार श्रेष्ठ, सङ्गीतमा तारा थापालाई पुरस्कार प्रदान गरिने भएको छ । यसै गरी नृत्यमा  जोगेन्द्र केसी, नाटकमा गोपाल देवान र  लोक सङ्गीतमा बमबहादुर कार्कीलाई पुरस्कार दिइने जनाइएको छ । कार्यक्रममा गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाका र मौलिक लोक नृत्य प्रस्तुत गरिएको थियो ।