• ७ मंसिर २०८१, शुक्रबार

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख ८ गते । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाउनुभयो ।

उहाँले २९ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । सन्दीप जोराले २२ रन बनाउनुभयो । कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाउनुभयो । 

ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट हुनुभयो । उहाँ यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट हुनुभएको हो । यस्तै करण केसी तीन रन जोड्दै पेभेलियन फर्किनुभयो । ललित राजवंशीले अविजित दुई रन बनाउनुभयो । 

बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिनुभयो । अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिनुभयो । एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ । 

इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

नेपालको एसिया कप खेल्न सपना संयुक्त अरव इमिरेट्स (युएई) ले चकनाचुर बनाएको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो ।

यस प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा भिडिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।