• २१ वैशाख २०८१, शुक्रबार

ग्रिन हाइड्रोजनबाट बिजुली निकाल्ने अध्ययन सम्झौता

blog

तस्बिर सौजन्य : डा. राम लामा

बनेपा समाचारदाता

बनेपा, वैशाख ८ गते । नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ । 

शुक्रबार काठमाडौँ विश्वविद्यालय र बुद्धभूमि नेपाल हाइड्रो कम्पनी प्रालिबिच ग्रिन हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो । 

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्राडा. मनिष पोखरेल र हाइड्रो कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । बुद्धभूमि नेपाल हाइड्रो कम्पनी प्रालिले नुवाकोटमा पाँच मेगावाटको तल्लो तादी जलविद्युत् आयोजना सञ्चालन गरेको छ । 

काठमाडौँ विश्वविद्यालय एकेडेमी इन्डस्ट्रिका संयोजक डा. राम लामाले विश्वविद्यालय र हाइड्रो कम्पनीबिच नेपालमा ग्रिन हाइड्रोजनको प्रविधिलाई प्रयोग गरी वर्षायाममा बढी हुने बिजुलीबाट हाइड्रोजन उत्पादन तथा भण्डारण र सुक्खायाममा सो हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली निकाल्ने विषयमा अध्ययन गर्न सम्झौता भएको बताउनुभयो । 

डा. लामाले सम्झौता अनुसार विश्वविद्यालयले पाँच मेगावाट विद्युत् क्षमता रहेको तल्लो तादी जलविद्युत् आयोजनास्थलमा एक मेगावाट हाइड्रोजन प्लान्ट स्थापना गरी सम्भाव्यता अध्ययन गर्ने बताउनुभयो । 

विश्वविद्यालयले तीन महिनाभित्र बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन, अनुसन्धान गरी कम्पनीलाई प्रतिवेदन बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । अध्ययनले हाइड्रोजनको प्रयोग गरेर बिजुली उत्पादनको विषयमा महत्वपूर्ण जानकारीहरू पत्ता लगाउने विश्वविद्यालयको विश्वास रहेको छ । 

काठमाडौँ विश्वविद्यालयले विगत दुई वर्षदेखि ग्र्रिन हाइड्रोजन ल्याबको स्थापना गरी नेपालमा हाइड्रोजन उत्पादनको अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । केयुले नेपाल आयल निगमको सहयोगमा २०७९ चैत १९ गते औपचारिक रूपमा हाइड्रोजनको उत्पादन गरेको थियो । निगमकै सहयोगमा विश्वविद्यालयले कोरियाबाट हाइड्रोजन कार आयात गरेको छ भने विश्वविद्यालय परिसरमा रिफ्युलिङ सेन्टरसमेत स्थापना गरेको छ ।