• २० वैशाख २०८१, बिहिबार

यातायात भरपर्दो बनाउन निर्देशन

blog

काठमाडौँ, वैशाख ७ गते । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न आयोगले यस प्रकारको निर्देशन दिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यातायातको सहज पहुँच, विद्युत् र खानेपानीको आपूर्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनलगायतमा आयोगको निर्देशन कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन हुन आग्रह गरेको बताउनुभयो । उहाँले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्राचार गरी यस प्रकारको आग्रह गरेको बताउनुभयो । 

आयोगले यातायातको सहज पहुँचका लागि सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

प्रवक्ता पौडेलले मतदान हुने मतदान स्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत प्राथमिकतासाथ मर्मतसम्भार गरी सुचारु राख्न निर्देशन दिइएको बताउनुभयो । इलाम–२ मा १४९ वटा मतदान केन्द्र तोकिएका छन् भने बझाङ १ (१) मा ९३ मतदान केन्द्र तोकिएका छन् । 

आयोगले उपनिर्वाचनका क्रममा नियुक्त गरिएका कर्मचारी वा सुरक्षाकर्मीले कुनै प्रकारको डर, धम्की वा प्रलोभन दिएमा वा बल प्रयोग गरेमा त्यस्ता गतिविधि निर्वाचन कसुर अन्तर्गत ठहर हुने प्रस्ट्याएको छ । यस प्रकारको गतिविधिमा संलग्नलाई आवश्यक कारबाही गर्ने आयोगले सचेत गराएको छ । इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) प्रदेश सभा सदस्य क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।