• १९ वैशाख २०८१, बुधबार

ज्येष्ठ नागरिकको निःशुल्क उपचार

blog

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

लीलाधर वली

घोराही, वैशाख ६ गते । घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट गत  आठ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

प्रतिष्ठानमा गएको साउन महिनादेखि फागुनसम्म एक हजार ८७ जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानका निमित्त अस्पताल कायम–मुकायम निर्देशक डा. रमेश कँडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार महिलातर्फ छसय ६२ जना र पुरुषतर्फ चारसय २५ ज्येष्ठ नागरिकले सेवा लिनुभएको छ । 

ज्येष्ठ नागरिकको उपचारका लागि १३ लाख २९ हजार ९ सय ७८ रुपियाँ खर्च भएको निर्देशक कँडेलले जानकारी दिनुभयो । रगत, एक्सरेसहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शतप्रतिशत ज्येष्ठ नागरिकलाई छुट दिने गरेको छ । 

ज्येष्ठ नागरिकको उपचार सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका निर्देशक कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकलाई प्रतिष्ठानमा सहज रुपमा निःशुल्क सेवा प्रदानका लागि धेरै सुधारको काम गरिरहेका छौं ।’

प्रतिष्ठानमा टोकन प्रणालीदेखि ज्येष्ठ नागरिकमैत्री हुनेगरी उपचार सेवा प्रभावकारी बनाइएको समेत बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानबाट उपचार पाउने ज्येष्ठ नागरिकमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहनुभएको छ । प्रतिष्ठानले न्युन बजेटमा धेरै ज्येष्ठ नागरिकको आठ महिनाको अवधिमा निःशुल्क उपचार गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो । 

सरकारले केन्द्रबाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने भएका कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि खर्च गरेर ज्येष्ठ नागरिकलाई उपचार सेवा दिंदैआएको उपकुलपति लामिछानेले बताउनुभयो । उपकुलपति डा. लामिछानेले भन्नुभयो, ‘ज्येष्ठ नागरिकको उपचारका लागि केन्द्र सरकारले प्रतिष्ठानलाई बजेट दिने गरेको छ, तर सो बजेटले सवैलाई सेवा दिन नमिल्ने भएका कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि निःशुल्क सेवा दिने गरेको छ ।’

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । प्रतिष्ठानले ओपिडीसहित १२ बेडको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानले जानकारी दिएको छ ।