• १९ वैशाख २०८१, बुधबार

विद्यालयलाई बजेट नदिँदा विद्यार्थीले पाएनन् पुस्तक

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख ६ गते । स्थानीय सरकारले विद्यालयलाई किताब खरिद गर्ने रकम निकासा नगर्दा यस वर्ष पनि विद्यार्थीले समयमा पुस्तक नपाउने भएका छन् ।  सात जिल्लामा किताब वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरमा किताब थन्किएको छ । प्रदेश कार्यालयले बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी र तनहुँको दक्षिण क्षेत्रमा किताब वितरण गर्दै आएको छ । 

किताब खरिदका लागि स्थानीय सरकारले विद्यालयलाई रकम निकासा गर्नुपर्ने हुन्छ तर मधेश प्रदेशका बारा, पर्सा, रौतहटसहितका जिल्लामा विद्यालयको खातामा पालिकाले रकम जम्मा नगरेपछि जनक शिक्षा कार्यालयले उधारोमा किताब दिएको छैन । 

“हाम्रो कार्यालयले चैत १३ बाट किताब बिक्री गरेको छ, पैसा भएका विद्यालयमा पुस्तक गएको छ अरूमा गएको छैन,” जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीले भन्नुभयो । चितवन र मकवानपुर जिल्लाका विद्यालयले आफ्नै स्रोतले खरिद गरेर लगेको पाइएको छ तर पनि सबै विद्यालयले लैजान सकेका छैनन् । 

प्रदेश कार्यालयको विवरण अनुसार बारा जिल्लामा ४० प्रतिशत, पर्सामा ३५ प्रतिशत र रौतहटमा ७० प्रतिशत किताब गएको छ । मकवानपुरमा ८५ प्रतिशत, पूर्वी नवलपरासीमा र तनहँुमा ८५ प्रतिशत गएको छ भने चितवनमा ९० प्रतिशत किताब गएको उहाँले जानकारी दिनुभयो । समयमा बजेट निकासा नगरेपछि विद्यालयले किताब खरिद गर्न सकेका छैनन् । 

शैक्षिक सत्र सुरु भएर पढाइ सुरु भइसकेको छ तर किताब नगएपछि सबै विद्यार्थीले किताब पाउन सकेका छैनन् । गएका किताब पनि विद्यालयले अन्य वैकल्पिक स्रोतबाट रकम जुटाएको प्रदेश कार्यालयका प्रमुख केसीले जानकारी दिनुभयो । 

किताब खरिद गर्न अर्थ मन्त्रालयले जनक शिक्षालाई एकै पटक रकम जम्मा भए ७५३ वटै पालिकामा समयमा किताब पु-याउन सक्ने क्षमता कार्यालयले राख्ने प्रमुख केसीले बताउनुभयो । जनक शिक्षा कार्यालयले कक्षा ५ देखि १० सम्मको किताब बिक्री गर्दै आएको छ । कक्षा १ देखि ५ सम्मको निजीले छपाएर बिक्री गरेको छ । गत वर्षको एक लाख किताब बाँकी छ, अहिले त्यो बिक्री गर्छु भनेकोमा कम गुणस्तरका छपाइ गरेर तीन लाख किताब बिक्री गरेको उहाँले बताउनुभयो । निजी क्षेत्रले बिक्री गरेको पुस्तकको सरकारी निकायले अनुगमन गर्नुपर्ने उहाँले माग गर्नुभयो । कार्यालयका अनुसार गणित, विज्ञान, स्वास्थ्यको ४० हजार सेट, अङ्ग्रेजी, नेपालीको ६० हजार सेट, सामाजिक ४५ हजार सेट, अन्य पुस्तक २० हजार सेट बिक्री गर्न बाँकी रहेको छ । 

कार्यालयको विवरण अनुसार चैत १३ देखि वैशाख ३ गतेसम्म १३ लाख २९ हजार ८३९ थान किताब बिक्री गरेको छ । यसबाट १३ करोड ७६ लाख ७० हजारर दुई सय रुपियाँ आम्दानी गरेको छ । गत वर्ष कार्यालयले २०७९ चैत १ देखि २०८० असार ३० गतेसम्म १३ लाख ७१ हजार ५२२ थान किताब बिक्री गरेको थियो । जसबाट १८ करोड ५५ लाख १८ हजार २५९ रुपियाँ आम्दानी गरेको थियो । 

जनक शिक्षाले किताबसँगै सिटिइभिटीको उत्तर पुस्तिकासमेत छपाइ गर्दै आएको छ । प्रदेश कार्यालय भरतपुरले सिटिइभिटी र विद्यालयको पुस्तकसमेत छपाइ गरी बिक्री गर्दै आएको छ ।