• १९ वैशाख २०८१, बुधबार

किन्नी झरनामा बढ्दै पर्यटक

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख ६ गते । बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको किन्नी झरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  पछिल्लो समय यो झरनाको सामाजिक सञ्जालबाट प्रचारप्रसार हुँदै गएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

करिब ७० फिट उचाइबाट झर्ने यो झरनाको मनमोहक दृश्यले डोटी, अछाम, बाजुराका आन्तरिक पर्यटकलाई आकर्षित गरेको स्थानीय व्यापारी बजिरे बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “वसन्त ऋतुको आगमनसँगै झरना हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ ।” जिल्लाका अन्य ठाउँबाट आएकाले झरनामुनि बसेर सेल्फी खिच्ने र रमाउने गरेको बुढाले बताउनुभयो ।

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण यो झरनालाई संरक्षण तथा प्रवर्धन गर्ने हो भने यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्न सक्ने बुढाले बताउनुभयो । त्रिवेणी नगरपालिकाका मौर, नाटेश्वरी, मालिका जस्तै यो भरना पनि एक पर्यटकीय स्थलका रूपमा रहेको छ ।

वडाध्यक्ष डिल्ली बुढाले स्थानीय सरकारले सक्ने जति काम गर्दै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारलाई माग गरेको बताउनुभयो । झरनाको आसपासमा होमस्टे, पसल र अन्य आवश्यक संरचना निर्माणका लागि प्रशस्त ठाउँ छ । यसको व्यवस्थापनका लागि कतैबाट आर्थिक सहयोग नमिलेको अध्यक्ष बुढाले बताउनुभयो । नाटेश्वरी, मौरे र किम्नी झरना त्रिवेणी नगरपालिकाका गहना भएको बताइन्छ । 

नगरपालिकाका प्रमुख कर्णबहादुर थापा यस्ता सम्पदाको संरक्षण, पूर्वाधार निर्माण तथा प्रवर्धन र प्रचारप्रसार गर्न सके धेरै लाभ लिन सकिने बताउनुहुन्छ । उहाँले झरना व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै विभिन्न संस्थासँग पहल गर्दै आएको बताउनुभयो ।