• २० वैशाख २०८१, बिहिबार

नेताहरु इलामकेन्द्रित

अध्यक्ष ओली इलाम आउनुहुँदै

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्विर

कोकिला ढकाल

इलाम, वैशाख ४ गते । वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा इलाम –२ मा दलका केन्द्रीय नेताहरु केन्द्रित हुन थालेका छन् । निर्वाचनकै सिलसिलामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।

ओलीले भोलि देउमाइ नगरपालिकाको मङ्गलबारेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलका नेताहरुले बताउनुभएको छ । अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव योगेश भट्टराई र कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटी इलामका उपसचिव रविन्द्र सुवेदीले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरु पनि इलामकेन्द्रित भएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा चुनावी भेटघाटमा अहिले इलाममै हुनुहुन्छ । हिजोसम्म सदरमुकाममै रहनुभएका अर्का नेता डा. शेखर कोइराला आज चुलाचुली र माङ्सेबुङ क्षेत्रमा चुनावी घरदैलो अभियानमा हुनुहुन्छ । कांग्रेसले वैशाख ८ गते सदरमुकाममा चुनावी सभा आयोजना गरेको कांग्रेस इलामले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी भेटघाटलाई तीव्र बनाएको छ । केही दिनअघिसम्म पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितको टोली इलामकेन्द्रित थियो । निर्वाचनको दिन नजिकिंदै गर्दा रास्वपाका केन्द्रीय तहका नेता तथा सरकारमा रहेका चार जना मन्त्री इलाम आउने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । 

रास्वपाले शिक्षामन्त्री सुमना श्रेष्ठ, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, डिपी अर्याल र वैशाख ११ र १२ गते पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको सो दलका नेताहरुको भनाइ छ ।  

यता, पहिचान पक्षधरका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमको पनि आज इलाम चोकबजारमा चुनावी सभा छ । सभालाई सम्बोधन गर्न स्वतन्त्र र पहिचान पक्षधर मानिएका धरान उपमहानगर पालिकका प्रमुख हर्क साम्पाङ इलाम आइपुग्नुभएको छ । 

एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ रहनुभएको छ । यस्तै अघिल्लो निर्वाचनमा पनि उम्मेद्वारी दिनुभएका कांग्रेसका डम्बरबहादुर खड्का यस पटक पनि उम्मेदवार हुनुहुन्छ । यस्तै, रास्वपाबाट मिलन योङहाङ लिम्बू उम्मेद्वार रहनु भएको छ । 

पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार रहनुभएको छ ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दिनु भएको छ । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार रहनुभएको छ ।