• १९ वैशाख २०८१, बुधबार

मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

blog

मौलाकालिका मन्दिरमा पूजापाठ गर्न आएका दर्शनार्थी।

मीना कँडेल

कावासोती, वैशाख ४ गते। पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। मन्दिरमा बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ। 

नयाँ वर्षसँगै विजयादशमी, माघे सङ्क्रान्ति तथा चैतेदसैंलगायतका पर्वमा भक्तजनको भीड लाग्ने गरेको छ। यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण नवलपुरलगायत देशका विभिन्न स्थान र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्।

मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ। यसका साथै प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागि समेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ। 

देशकै प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा मौलाकालिका केवलकार सञ्चालनमा आएसगैँ स्थानीय हर्षित भएका छन्। चैतेदसैँको अवसरमा मङ्गलबार दुई हजार भक्तजनले  दर्शन गरेका छन्। 

मौलाकालिका केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले केबलकार सञ्चालन भएको एक वर्षको अवधिमा दुई लाख ७५ हजार भक्तजनले केबलकार चढेर मन्दिरमा पूजापाठ गरेको बताउनुभयो। केबलकार नचढी मन्दिर दर्शन गर्न जाने भक्तजन समेत रहेकाले मन्दिरमा दिनहुँ भीड लाग्ने उहाँको भनाइ छ।

१६ औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्त्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो। हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माइलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उनले बताए। मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको पराजुलीको भनाइ छ।

केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धालाई समेत सहज भएको सापकोटाले बताउनुभयो।  विगतमा दुईचार घण्टा हिँडेर मन्दिर पुग्ने गरेकोमा अहिले केवलकारले सहज बनाएको छ।  ८० वर्ष नाघेका वृद्धवृद्धालाई केबलकारमा शुल्क नलाग्ने, ७० देखि ८० उमेर समूहका, विद्यार्थीलाई २५ प्रतिशत छुट भएकाले पनि मन्दिर दर्शनका लागि आउने सङ्ख्यामा वृद्धि भएको उहाँ बताउनुहुन्छ।

मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ। सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ। समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर छ।