• २१ वैशाख २०८१, शुक्रबार

बौदीकालीलाई अन्तरपालिका स्तरीय भलिबल उपाधि

blog

विजेता समुहलाई पुरस्कार प्रदान गर्नु हुँदै प्रतिनिधि सभा सदस्य गैरे । तस्बिर : गोरखापत्र

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख ४ गते । जिल्लाको निस्दी गाउँपालिकामा भएको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जित्न सफल भएको छ । 

दोस्रो निस्दी महोत्सवअन्तर्गत भएको प्रतियोगिताको फाइनल खेलमा स्याङ्जाको चापाकोट नगरपालिकालाई ३–० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि जितेको हो । फाइनल खेलमा बौदीकालीले  २५–२२, २५–१८, २५–१४ अंक सहित पहिलो, दोस्रो र तेस्रो सेट जित्दै उपाधि हात पारेको हो । फाइनल खेलमा पराजित भए संगै चापाकोट द्वितीय स्थानमा सिमित भएको छ । 

प्रतियोगितामा घिरिङ गाउँपालिका तनहुँ तृतीय भएको छ । तृतिय स्थान छनौट खेलमा घिरिङले निस्दी गाउँपालिकालाई २५–१३, २५–२२, २८–२६ अंक सहित ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस संगै निस्दीले सान्तवना स्थानमा चित्त बुझाएको छ ।

निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी–४, झ्याल्टुङ्गमा भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव अन्तर्गत गत चैत २९ देखि प्रतियोगिता सुरु भएको थियो । 

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका ६ पालिकाको सहभागीता रहेको प्रतियोगितामा बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी उत्कृष्ट खेलाडी, अशोक श्रेष्ठ उत्कृष्ट स्पाईकर, दानबहादुर गाहा उत्कृष्ट सेटर, सञ्जित सिंजाली उत्कृष्ट कोच, चापाकोट नगरपालिकाका राजन दर्लामी उत्कृष्ट डिफेण्डर, विवश थापा उत्कृष्ट ब्लकर र घिरिङ गाउँपालिकाका सुजन राना उत्कृष्ट सर्भर घोषित हुनुभयो । 

प्रतियोगितामा विजेता हुनु सफल प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने समुहलाई क्रमश: एक लाख ३० हजार, ८० हजार, ५० हजार र २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको विजेता समुहलाई प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले पुरस्कार प्रदान गर्नु भएको थियो । 

उहाँले पछिल्लो समय युवामा अब यो देशमा बसेर केही हुने वाला हुने छैन, विदेश नै जानु पर्छ भन्ने सञ्चार भैरहेको भन्दै नकारात्मक प्रचारको पछि लागेर भ्रमित नहुन आग्रह गर्नुभयो । साथै उहाँ विकासको लागि विनियोजित बजेट बाट समयमा काम सम्पन्न नहुने र भैहाले पनि गुणस्तरीय काम नहुँदा जनतामा निरासा छाएको भन्दै सरोकारवालाहरुले योजना कार्यान्वयनमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । 

जापानिज समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले आफ्नो गाउँ र ठाउँको पहिचानको लागि स्थानिय स्तरमा कार्यक्रम हुनु महत्वपूर्ण कुरा रहेको बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवद्र्धन र खेलकुदको विकासका लागि भएको गत चैत २६ देखि सोमबारसम्म महोत्सव भएको थियो । 

मेलाको आकर्षणको रुपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल संगै परम्परागत कुँडले घरको नमुना, स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री तथा प्रदर्शनी, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, अन्त दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति, निस्दी डान्स आईडल र बालउद्यान रहेको थियो ।