• २० वैशाख २०८१, बिहिबार

एसिसी प्रिमियर कप : हङकङलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

blog

नेपाली खेलाडी खुशी मनाउँदै । तस्बिर : क्यान

काठमाडौँ, वैशाख ३ गते । नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ अन्तर्गत ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सोमबार भएको तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो । नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । तेस्रो जितसँगै ६ अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा छ । 

यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो । नेपालले अन्तिम खेल ५ गते साउदी अरेबियासँग खेल्नेछ । जितका लागि एक सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय १७ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।


नेपालका लागि आशिफ शेखले ४० रन बनाउनुभयो । उहाँले १८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै ओपनर कुशल भुर्तेलले ३२ रन, कप्तान रोहितकुमार पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाउनुभयो । 

बलिङमा हङकङका इशान खान र यासिम मुर्ताजाले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । हङकङका लागि आन्सी राथले सर्वाधिक ३४ रन बनाउनुभयो ।

यस्तै जेसान अलीले १४, कप्तान निजकट खानले १२ र इशान खानले ११ रन बनाउनुभयो । बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिनुभयो । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो । 


वर्षाले केही समय ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको हो । हङकङले दोस्रो हार खेपेको छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

यस्तै प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल प्रिमियर कपको साबिक विजेता हो ।