• १८ माघ २०८१, शुक्रबार

रोड टेस्ट नगरी लाइसेन्स दिने प्रक्रिया परिमार्जन आवश्यक छ : गृहमन्त्री लामिछाने

blog

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत

काठमाडौं, वैशाख २ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान–२०८१’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो।

उहाँले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गर्नुभयो।गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताउनुभयो।

उहाँले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभयो।गृहमन्त्री लामिछानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गर्नुभयो।

उहाँले सडक दुर्घटनामा बाइक चालकको सङ्ख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताउनुभयो ।

उहाँले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै  नागरिकको ज्यान बचाउनु सबैभन्दा ठुलो दायित्व भएको बताउनुभयो।उहाँले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो।