• २२ वैशाख २०८१, शनिबार

'नयाँ वर्ष कांग्रेसका लागि पार्टी सुदृढीकरण गर्ने सुवर्ण अवसर'

blog

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा । फाइल तस्बिर ।

सिराज खान 

नेपालगन्ज, वैशाख २ गते । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ लाई शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा मनाउनु पर्ने बताउनुभएको छ । उहाँले यो नयाँ वर्ष कांग्रेसका लागि पार्टी बनाउने सुवर्ण अवसर रहेको बताउनुभएको हो । 

समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ वर्षमा नयाँ अठोटका साथ पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसको जिउमा टाँसिएको गठबन्धन र भ्रष्टाचारको बिल्लालाई सबै मिलेर फालेर पार्टीलाई एक्लै देशको सबैभन्दा ठुलो पार्टी बनाउनु पर्नेमा विशेष जोड दिनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, "अब सरकारमा जाने कुरामा ध्यान नदिएर प्रतिपक्षमै रही पार्टी बनाउने अभियानमा लाग्नुपर्छ । भ्रष्टाचार र बेथितिलाई समाप्त पारेर कांग्रेसलाई अब नयाँ उत्साहका साथ अगाडि बढ्ने मौका आएको छ । यो मौकाको सदुपयोग गर्नुपर्छ ।"

नयाँ वर्ष २०८१ लाई अवसरका रूपमा विकास गर्न पार्टी पङ्क्ति लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक अस्थिरता अन्त्यका लागि सोच्नुपर्ने बेला आएको बताउँदै महामन्त्री थापाले अस्वस्थ राजनीतिक खेलले मुलुक बरबादीतर्फ गइरहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताउनुभयो ।

पालैपालो सबैले सरकार चलाएपनि देश विकास हुन नसकेको, २० औँ वर्ष पहिले सुरु भएका पुल र सडक अझै पूरा हुन नसकेको प्रति दुख व्यक्त गर्दै कांग्रेस नेता थापाले अब त्यसरी काम नचल्ने चेतावनी समेत दिनुभयो ।