• २१ वैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, वैशाख २ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८०’ पेश गर्नुहुने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुनेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक, २०८० मावि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिका लागि पेश गर्नुहुने कार्यसूची छ ।