• ७ मंसिर २०८१, शुक्रबार

जुडशीतल पर्व

blog

हरेक धर्म, सम्प्रदाय र समुदायमा मनाइने चाडपर्वको आआफ्नै विशेषता हुन्छ । हरेक चाडपर्वको सामाजिक, धार्मिक, सांस्कृतिक महत्व हुन्छ । चाडपर्व पारिवारिक र सामाजिक सम्बन्धलाई बलियो पार्ने तथा नवीकरण गर्ने अर्को सेतु पनि हो । चाडपर्वको महत्वलाई मानव स्वास्थ्यका दृष्टिले पनि हेर्न सकिन्छ ।

हाम्रा कतिपय चाडपर्व स्वास्थ्यको दृष्टिकोणबाट पनि अति नै महत्वपूर्ण मानिएको छ । चाडपर्वलाई मानव स्वास्थ्य र वातावरण तथा प्रकृतिका दृष्टिले पनि जोड्ने गरिएको छ । चाडपर्वका बेला घरकोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ । यो पक्ष धर्मसँग पनि जोडिएको छ । दसैँअगाडि घर पोत्ने वा सरसफाइ गर्ने, फोहोर ठाउँमा लक्ष्मीको बास हुन्न भन्ने मान्यता अनुरूप सरसरफाइ गर्ने परम्परामा धार्मिक भावनासँगै स्वास्थ्यप्रति चेतना जगाएको पाइन्छ । साउनेसङ्क्रान्तिका दिन लुतो फाल्नेलगायतका सन्दर्भ पनि स्वास्थ्यसँग जोडिएका छन् । कुन चाडपर्वका बेला के खाए स्वास्थ्य रक्षा हुन्छ भन्ने आधुनिक विज्ञानको प्रादुर्भाव हुनुभन्दा धेरैअगाडि चल्दै आएको परम्परा हो । माघेसङ्क्रान्तिमा घिउ र चाकु खाएर शरीरलाई ताप प्रदान गर्ने, गर्मीको मध्यमा पर्ने अक्षय तृतीयामा सातु खाएर शीतलता प्राप्त गर्ने, जनैपूर्णिमाका दिन क्वाँटी खाने परम्परा स्वास्थ्यका दृष्टिले पनि अनुकूल छ । प्रकृतिसँगको निकटता र वातावरणमा पाइने जीवजन्तुमैत्री बनाउन पनि चाडपर्वहरूको ठुलो भूमिका छ ।

नागपञ्चमीमा सर्पको पूजा होस् वा तिहारमा काग, कुकुर, गाईगोरुको पूजा, यी सबै हाम्रो वातावरणमा रहेका जीवजन्तुको पहिचान एवं संरक्षण गरी तिनबाट फाइदा लिन प्रेरित गरिरहेका हुन्छन् । यसले प्रकृतिको संरक्षण गर्न निर्देश गरिरहेका हुन्छन् । दसैँमा फूलपातीका रूपमा प्रयोग हुने वनस्पतिको पूजाले पनि तिनको महत्वबारे बुझ्न र संरक्षण गर्न प्रेरित गर्छ । प्रत्येक चाडपर्वको उद्देश्य धार्मिक कृत्य भए पनि अन्तर्य भने प्रकृति र वातावरणको संरक्षण नै रहेको पाइन्छ । यस कारण नेपालमा मनाइने विभिन्न चाडपर्वले धार्मिक महत्व बोक्नुका साथै वातावरण संरक्षणमा पनि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  

प्रकृतिप्रेमी पर्व

मिथिलामा मनाइने मुख्य चाड जुडशीतल पनि एउटा यस्तै प्रकृतिमैत्री र वातावरण संरक्षणको लोकपर्व  हो । यद्यपि मिथिलाका अन्य चाडपर्वहरू पनि प्रकृति र वातावरण संरक्षण गर्न अभिप्रेरित गरिरहेको छ । तर, वैशाख १ गते नयाँ वर्षको दिन मनाइने जुडशीतल पर्वको महत्व भिन्न छ । वैशाखदेखि भदौसम्म मिथिलामा असह्य गर्मी हुन्छ । त्यस अनुसार खानपानसँगै जीवनशैली पनि फेरिन्छ । मिथिलामा जाडोयाममा कठ्याङ्ग्रिने चिसोले सताउँछ भने गर्मीमा छाला डढाउने तातोको सामना गर्नु पर्छ । वैशाखबाट सुरु हुने गर्मीको प्रभाव भदौसम्म रहन्छ । यस्तो अवस्थामा शरीरको तापक्रम सन्तुलन राख्न र शरीरलाई शीतलता प्रदान गर्न खानेकुरासँगै पहिरन र जीवनशैलीमा परिवर्तन ल्याउन यस्ता पर्वले अभिप्रेरणा दिन्छ ।

जुडशीतल पर्वको धार्मिक महत्व त छँदै छ, सँगै प्राकृतिक महìव पनि कम छैन । हाम्रा पुर्खाले गर्मी छेक्न र गर्मीसँग लड्न सकियोस् भनेर यो पर्व मनाउन थालेका हुन् तर हिजोआज प्रकृतिमाथि मानिसहरूको ज्यादती बढ्दो छ । त्यसैले जुडशीतल पर्वलाई प्रकृति संरक्षणको महत्वपूर्ण अभियानका रूपमा लिन सकिन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता दिन नयाँ वर्षको सुरुवातसँगै वैशाख २ गते मनाइने मिथिलाञ्चलको लोकपर्व जुडशीतल हो । सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको विश्वास गरिन्छ । 

मिथिलामा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई नयाँ वर्षका रूपमा समेत मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्वका रूपमा मनाउने गर्छन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु नै हो । वर्षको पहिलो दिन वैशाख १ गतेलाई मिथिलामा सतुवाइन भनिन्छ । पहिलो दिन चना, बदाम, जौ, मकै, कागुनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । दोस्रो दिन अर्थात् वैशाख २ गते जुडशीतल मनाइन्छ । मानवसहित प्राणी र वनस्पतिलाई चर्कंदो गर्मीबाट त्राण दिन र शीतलता दिने भएकाले यसलाई प्रकृति पूजाको पर्वसमेत भनिन्छ । यो प्रकृतिसँग जोडिएको लोकपर्व हो । यसमा प्रकृतिमैत्रीका सुन्दरतम सन्देश अन्तरनिहित छन् ।

नयाँ वर्षको सुरुवात भएको भोलिपल्ट मनाइने जुडशीतलमा एकाबिहानै बुबाआमा, गुरु, मान्यजन एवं ज्येष्ठ व्यक्तिले सानालाई वर्षभरि सुख, समृद्धि, शान्ति, आरोग्यता, शीतलता र दीर्घजीवन एवं उत्तरोत्तर प्रगतिको कामनासहित शिरमा पानी छर्किंदै आशीर्वाद दिने चलन छ । वैशाखको चर्को घामबाट तातेको वातावरण र शरीरमा शीतलताका लागि टाउकोमा पानी छर्कने जुडशीतल पर्वमा नयाँ वर्षको स्वागत गर्ने परम्परा मिथिलामा छ । ठुलाबडाले परिवारका सदस्यको जीवन शीतलतामा परिणत होस् अर्थात् शान्तिपूर्वक बितोस् भन्ने कामनासहित लोकसंस्कृतिसँग जोडिएको जुडशीतललाई प्रकृति पूजाको पर्व मानिएको हो । मानवलाई मात्र होइन, प्रकृतिसँग जोडिएका खेतबारीमा लगाइएका बोटबिरुवामा पानी हाल्ने भएकाले पनि यसलाई प्रकृति पूजाको पर्व मानिँदै आएको हो । 

यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरुद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई पशुपन्छी, लतावृक्ष, बोटबिरुवालाई पानी जुराउने गरिन्छ । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने सन्देश प्रवाह गर्छ । यो पर्व थारू समुदायमा सिरुवा पर्वको नामले चिनिन्छ । थारू समुदायमा सिरुवाको नामले मनाइने यो विशुद्ध कृषि एवं सांस्कृतिक तथा सामाजिक सद्भाव, भाइचारा, आदर्श एवं सम्बन्ध विस्तार गर्ने पर्वका रूपमा रहेको छ । पाको उमेरका व्यक्तिले आफूभन्दा सानाको टाउकोमा चिसो पानी राखेर आशीर्वाद दिने तथा आशीर्वाद थाप्नेले खुट्टा छोएर दण्डवत गर्ने परम्परा थारू समुदायमा पनि छ । पर्वको अवसरमा घरआँगन सफा गर्नु, रुख–बिरुवामा पानी हाल्नुका साथै हिलो छ्याप्ने गरिएकाले वातावरणीय दृष्टिकोण पनि सिरुवा र जुडशीतल पर्व महìवपूर्ण मानिन्छन् । मिथिला मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । मिथिलामा मनाइने अधिकांश लोकपर्व कृषिमा आधारित संस्कृति अनुसार नै मनाइने चलन छ । कात्तिकमा मनाइने प्रमुख पर्व छठ पनि कृषि परम्परामै आधारित पर्व हो । गर्मीको सुरुवात हुने वैशाखमा सूर्यको तापको असर रोक्न जुडशीतल हो । दुवै पर्वमा कृषि परम्परालाई प्रधानता दिइएको छ ।

पानीको पर्व

मिथिलाका पर्वहरू यहाँको जीवन पद्धति, परम्परा, मौसम परिवर्तन र ऋतुचक्रको दृष्टिले स्थापित भएको हो । लोकपरम्परामा जलदानको महìव आज पनि छ । घरमा पाहुना पुगेपछि सबैभन्दा पहिला पानी दिएर नै स्वागत गरिन्छ । कतै कतै पानीमा मिस्री मिसाएर पनि खान दिइन्छ । यहाँको गर्मीलाई छल्न पानीको सहजताका लागि लोकसंस्कारहरू विकसित भएका हुन् । यस क्षेत्रका पानीको जलभण्डारणका रूपमा रहेको चुरे पर्वत शृङखला र त्यस वरिपरिका वनमा व्यापक दोहन सुरु भइरहेको छ । जसले पानीको सङ्कट निम्त्याएको छ । पानी प्रबन्धनको पुराना विधिहरूको संरक्षण र त्यसको अन्तरसामुदायिक हस्तान्तरणका बारेमा दृष्टि दिन जुडशीतल जस्ता पर्वले मौका दिएको छ । यस पर्वले पानीको सङ्कटले बदलिँदो सामाजिक आर्थिक चक्रलाई पनि प्रतिविम्बित गर्छ । त्यसैले जुडशीतल पर्व अहिले पानीको पवित्रता, मुहानको संरक्षण, भण्डारण र सहज उपलब्धताप्रति बेलैमा सचेत हुन प्रेरित गर्छ । यस पर्वमा इनार, कुवाको पनि जीर्णोद्धार गरिन्छ । यसमा जिउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको छ । जिउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा ‘पङ्क स्नान’ भनिन्छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा ‘पङ्क स्नान’ को प्रथा सुरु भएको मानिन्छ । 

जुडशीतलका दिन सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गरेर सफा गर्ने गरिन्छ । यो पानीको स्रोत जोगाउन र वातावरण संरक्षणतर्फ धार्मिक शिक्षा पनि हो । यो पर्व मिथिलामा प्रकृतिसँग जोडिएको संस्कृतिका रूपमा पनि छ । जलवायु परिवर्तन र यसको असर बढिरहेका बेला जुडशीतल पर्वको महत्व अझै सान्दर्भिक बनेको छ । प्रकृतिले मानवलाई धेरै कुरा दिए पनि मानवले प्रकृतिको संरक्षणमा ध्यान नदिने गरेको हुँदा यस पर्वले मानवलाई प्रकृतिप्रति उदार हुन सिकाउँछ ।

जल र जमिनबिना मानवको विकास सम्भव नरहेको र अहिले जल र जमिन विनाश भइरहेको सन्दर्भमा भविष्यमा विपत् निम्त्याउने खतरालाई रोक्न यस पर्वको विशिष्ट महìव छ । सुक्खा मौसममा रुखबिरुवा सुक्ने तथा विभिन्न रोग लाग्ने भएकाले पानी हाल्न यो पर्वले सिकाउँछ । पानी हालेपछि रुखबिरुवा फस्टाउने मान्यता छ । नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातावरण, स्वच्छ पानी, स्वच्छ जिउ, स्वच्छ र रुचिकर खानासँगै तापविरुद्ध लड्ने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वमा निहित सन्देश हो ।

जाडो सकिएर गर्मी लागेसँगै मनाइने यो पर्वको वैज्ञानिक महत्व उत्तिकै छ । बदलिँदो मौसमका कारण यसबेला खाना नरुच्ने, शरीरले सन्तुलन नमिलाउँदा बिरामी पर्ने, टाउको भारी हुने जस्ता समस्या हुने गर्छ । त्यसबाट बच्न पनि यो पर्व परम्परादेखि चलिआएको हो । वस्तुतः जुडशीतल लोकपर्व मात्र होइन, कृषि संस्कृतिसँग जोडिएको प्रकृतिप्रमि पर्व पनि हो । प्रकृति र स्वास्थ्य सँगसँगै मानव कल्याणको पाठ यस पर्वले दिएको छ ।

   

Author

निमिष झा