• २१ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी सञ्चालनमा जोड

blog

काठमाडौँ, वैशाख १  गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न यसको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार श्रम मन्त्रालयको आयोजनामा रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित चारदिने तालिमको समापन कार्यक्रममा श्रममन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अनिवार्य भएको बताउँदै उहाँले यस कार्यक्रमबाट अपेक्षित रूपमा परिणाम आउन नसकेको बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरी सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । मन्त्रालयका अनुसार उक्त कार्यक्रमलाई पुनर्संरचना गर्ने निर्देशिका गत वर्ष नै जारी भए पनि गत वर्ष यस कार्यक्रमका लागि बजेट घटेकाले उक्त निर्देशिका कार्यान्वयनमा जान सकेको थिएन । यो वर्ष भने यसलाई सुरुदेखि नै कार्यान्वयनमा जाने गरी तयारी भएको मन्त्रालयले तयारी गरेको जनाएको छ । 

कार्यक्रमको विद्यमान निर्देशिकामा न्यूनतम एक सय दिनको रोजगारीलाई बढी प्राथमिकता दिएकोमा संशोधित निर्देशिका न्यूनतम रोजगारीलाई सिप विकास र उद्यमशीलतासँग जोडेर लैजाने कार्यलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ । 

निर्देशिकामा देशको आन्तरिक रोजगारीको प्रवर्धन तथा सङ्ग्रह श्रम बजारको सुधारका लागि मन्त्रालयले उक्त कार्यक्रममा सुधारको अतिरिक्त व्यावसायिक सिप विकास, नागरिकलाई श्रम बजारमा पहुँच स्थापना तथा श्रम बजार सूचना प्रणालीको निर्माण तथा प्रयोग गर्नुपर्ने विषय पनि समेटिएका छन । जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न नसकेको भन्दै श्रममन्त्री अर्यालले भन्नुभयो, “कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन । त्यसैले यसलाई परिणाममुखी बनाउन यसको ढाँचा परिवर्तन आवश्यक छ ।” त्यस्तै मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उत्तार्न सहभागीलाई आग्रह पनि गर्नुभयो । चिकित्सकको व्यवहारले बिरामीको आधा रोग निको हुन्छ । त्यसै गरी तपाईंको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस्, ऊर्जा मिलोस्, उहाँले भन्नुभयो । 

श्रमसचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफ्नो जिम्मेवारी पूरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गर्नुभयो । सो तालिममा सहभागीमध्येका मकवानपुर थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगीले यस प्रकारको तालिमले काम गर्नका लागि थप ऊर्जा प्राप्त भएको बताउनुभयो । मन्त्रालयले आयोजना गरेको क्षमता अभिवृद्धि तालिममा नौ जिल्लाका रोजगार संयाजक र रोजगार सहायक गरी १४२ जनाको उपस्थिति रहेको जनाइएको छ ।