• २६ वैशाख २०८१, बुधबार

विकासका लागि दलगत स्वार्थभन्दा माथि उठौं : उपप्रधानमन्त्री

blog

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लहान एक्सपो उदघाटन गर्नुहुँदै । तस्विरः जीवछ यादव

जीवछ यादव

लहान, चैत ३० गते । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यतायातमन्त्री रघुबीर महासेठले दलगत स्वार्थभन्दा माथि उठे मात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । 

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले आयोजना गरेको लहान एक्सपोलाई लहानमा आज उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सता गठबन्धन परिवर्तन भएपछि वर्तमान सरकारले देशमा विकास र समृद्धिको माहोल बनाउन लागिपरेको उहाँको भनाइ छ । सरकारले राम्रो कामको थालनी गर्दा सबै दलले सामुहिक रुपमा सहयोग गर्ने वातावरण बन्न नसक्दा विकासले गति लिन नसेको उपप्रधानमन्त्री महासेठले प्रष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘दुई प्रतिशत अर्थिक वृद्धिदरभन्दा कम भइरहेको अवस्थामा हाम्रो दल नेकपा (एमाले) सरकारमा सहभागी भयो ।अहिले तीन प्रतिशतभन्दा बढी अर्थिक वृद्धिदर हुन थालेको छ । २०७४ सालमा सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमाजस्तै समृद्धि र विकासको कामले गति लिने विश्वास लिएका छौं ।’

व्यापार व्यवसाय प्रवर्धनका लागि समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार नाराका साथ आयोजना गरिएको लहान एक्सपोले आफूले उत्पादन गरेको बस्तुहरु निर्यात गर्न एक्सपो सफल होस् उपप्रधानमन्त्री महासेठले सुभकामना दिनुभयो । 

सिरहाको विकासप्रति सङघीय सरकारले कुनै भेदभाव नगरेको उपप्रधानमन्त्री महासेठले भन्नुभयो । ‘आफू २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा तराई मधेश विशेष कार्यक्रम अन्तर्गत २७ वटा योजनाहरु र ८० वटा राष्ट्रिय राजमार्गमध्ये चारवटा सिरहामा नै दिएको बताउनुभयो ।

मधेश प्रदेशमा रहेको धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्न निजी क्षेत्रहरुले पर्यटकका लागि होटलहरु सञ्चालनमा ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । जनकपूरमा रहेको होेलभन्दा बर्दिवास र ढल्केवरका होटेलहरुमा भारतीय पर्यटकहरु बस्न रुचाएको उहाँको बुझाइ छ । 

कार्यक्रममा पूर्व कानूनमन्त्री तथा सिरहा–३ का सङघीय सांसद लिलानाथ श्रेष्ठ, सिरहा–१ का सङघीय सांसाद रामशङकर यादव, गङगाप्रसाद यादव, मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेश सभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी, सञ्जय यादव, ललिता दास, जिवछी यादव, मनोजसिंह, सिरहा जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो र विभिन्न पालिका प्रमुखहरुको उपस्थिति थियो ।