• १३ साउन २०८१, आइतबार

भारतको बेतालघाटमा दुर्घटना : शव परीक्षण सकेर नेपाल ल्याइँदै

blog

महेन्द्रनगर (कञ्चनपुर), चैत २८ गते । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदैछ । दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका-८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिनुभयो । 

दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु पनि शव लिन नैनीताल पुगेका बताउनुभयो । “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैछौँ”, नैनीतालबाट प्रमोदले भन्नुभयो, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्वानी पुगेर हाल्ने सल्लाह भएको छ ।” उहाँले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साँझसम्म नेपाल पुगिसक्ने बताउनुभयो । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ-८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका-१ चेपाङका टोपबहादुर बस्नेत छन् ।

त्यसैगरी बैजनाथ गाउँपालिका-८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताउनुभयो । “मृतकका आफन्तहरु नैनीताल पुगेर हामीसँग नियमित सम्पर्क गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ ।” वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ ।

सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो । घटनास्थल वरपर नै उनीहरु सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टनकपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो । रासस