• १३ साउन २०८१, आइतबार

मेसिन बिग्रिदा खानेपानीको सुविधाबाट वञ्चित शुक्लाफाँटाका स्थानीय

blog

कञ्चनपुर, चैत २८ गते । एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका-४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बिग्रिएको मेसिन मर्मतका लागि प्राविधिकको समयमै व्यवस्था मिलाउन नसक्दा स्थानीय खानेपानीको सेवाबाट वञ्चित भएका हुन् ।

समयमै मेसिन मर्मत नहुँदा टाढाबाट पानी ल्याएर पिउने व्यवस्था मिलाउनु परेको स्थानीयले गुनासो गरेका छन् । पिपलाडी स्वास्थ्य चौकीमा पुग्ने बिरामी, स्वास्थ्यकर्मीलगायत पनि खानेपानीको व्यवस्था नहुँदा समस्यामा परेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी वसन्त धामीले बताउनुभयो । एक सातादेखि खानेपानी आपूर्ति नहुँदा हेण्डपम्पबाट बाल्टिनमा पानी भरेर ट्याङ्कीमा राख्दै आएको उहाँको भनाइ छ । “खानेपानीको मेसिन बिग्राएको छ”, धामीले भन्नुभयो, “अहिलेसम्म मर्मत नहुँदा निकै सास्ती खेप्दै आएका छौँ । शुद्ध पिउने पानीको आपूर्ति नहुँदा विकल्पका रूपमा असुरक्षित हेण्डपम्पको पानी पिउँदै आएका छौँ ।”

खानेपानी व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ऐरले शुक्रबारदेखि खानेपानीको आपूर्तिमा समस्या देखिएको बताउनुभयो । “प्राविधिकले विद्युत आपूर्तिमा समस्या देखिएको छ भनेपछि पावर आपूर्ति ठिक गर्ने कार्य गर्‍यौ”, उहाँले भन्नुभयो, “त्यसपछि पनि मेसिन सञ्चालनमा आउन सकेन, स्थानीय प्राविधिकले समस्या समाधान गर्न नसकेपछि प्राविधिक ल्याएर पनि समस्या समाधान हुनसकेको छैन ।” 

पानी ट्याङ्कीमा पुर्‍याउने विद्युतीय मोटरमा खराबी आएको हो वा तार सर्ट भएर यस्तो भएको भन्नेबारे अझैसम्म प्राविधिकले पत्ता लगाउन नसकेको अध्यक्ष ऐरले बताउनुभयो । “समस्या समाधानका लागि कैलालीको धनगढीबाट प्राविधिक मगाएका छौँ”, उहाँले भन्नुभयो, “एक-दुई दिनमा समस्या समाधान गरी पानी आपूर्ति गर्छौ ।” वि.सं.२०७४ मा दातृ निकायको ४३ लाखको लागतमा खानेपानी आयोजना निर्माण भएको थियो । आयोजनाबाट दुई सय २५ उपभोक्तालाई पानी आपूर्ति हुँदै आएको छ । खानेपानीको ट्याङ्कीको क्षमता दुई हजार पाँच सय लिटर रहेको छ । रासस