• १३ साउन २०८१, आइतबार

रुखबाट खसेर बालकको मृत्यु

blog

शिवराज ढुंगाना 

मंगलसेन, चैत २८ गते । जङ्गलमा झ्याउ निकाल्ने क्रममा रुखबाट खसेर रामारोशनमा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ निवासी १४ वर्षीय पुरन रोकायाको रुखबाट खसेर मृत्यु भएको हो ।

बिहीबार बिहान सोही वडाको सालिमकोट सामुदायिक वनमा रुखबाट झ्याउ निकाल्ने क्रममा उनको खसेर मृत्यु भएको स्थानीय कम्मानसिंह साउँदले जानकारी दिनुभयो । झ्याउ निकाल्ने क्रममा रुख चढेको बेलामा करिब ५० मिटर माथिबाट खसेर घटनास्थलमै निधन भएको साउँदको भनाइ छ । 

मृतक पुरन स्थानीय नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत थिए । मृतकका बुवा विदेश जान भनेर काठमाडौँमा रहेको बताइएको छ ।

स्थानीयको भनाइलाई उदृत् गर्दै नेकपा माओवादी केन्द्रका नेता कम्मान साउँद जोशीलाले रुखबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । रामारोशन क्षेत्रका लेकाली भागहरूमा अग्ला रुख र भीरहरुमाबाट जडीबुटी तथा झ्याउहरू निकालेर बेचबिखन गर्ने गरेको बताइएको छ ।