• १३ साउन २०८१, आइतबार

संसदीय प्रक्रिया अनुसार अघि बढ्न सभामुखलाई आग्रह

blog

प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गराउँदै सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी रेशम पक्ष । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, चैत २७ गते । 
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्षले मङ्गलबार दिउँसो संसदीय प्रक्रिया अनुसार अघि बढ्न प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गराएको छ ।

उन्मुक्ति कारबाही गरेकी समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीको कारबाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि सामुहिकरुपमा सभामुखको ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले बताउनुभयो ।

उहाँले यस्तो क्रियाकलापले प्रदेशको, सङ्घीयता कमजोर त हुन्छ नै अनाश्यकरुपमा प्रदेश सभा सदस्यलाई कारबाही गर्ने रोग अरू पार्टीमा पनि सर्छ भन्नुभयो । ह्विप उल्लङ्घन गरेमा संसदीय दलको सिफारिसमा कारबाही हुनु पर्नेमा विना कारण विधि मिचेर पार्टीको अध्यक्षले कारबाही गर्नु विधिसम्मत नभएको उहाँको दाबी छ ।  

संसदीय प्रणाली अनुसार प्रदेश सभा सदस्यलाई संसदीय दलले मात्र कारबाही गर्न पाउने भए पनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारबाही सदर गरेकोले लिखितरूपमा ध्यानाकर्षण गराइएको नाउपाका प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसदीय दलले कुनै पनि प्रदेश सभा सदस्यलाई कारबाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको छ ।’’

यसैबिच, उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरीलाई जिम्मेवारी मुक्त गर्दै कैलाश चौधरीलाई जिम्मेवारी दिएको पत्र समेत प्रदेश सभा सचिवालय पठाउनु भएको छ । संयुक्त भेटमा सो कुरा पनि सभामुखसँग छलफल गरिएको बताइएको छ ।

नेता घनश्यामले भने सात जना प्रदेश सभा सदस्यले आफूलाई दलको नेता चयन गरेकाले अहिलेसम्म आफैँ कायम रहेको दाबी गर्नुभयो । 

यसैबिच पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सभामुख भण्डारीले विधि विधान अनुसार नै प्रदेश सभा सदस्य इन्दिरा गिरीका विषयमा निर्णय भएको बताउनुभयो ।