बाजुरा समाचारदाता
बाजुरा, चैत २७ गते । देशका विभिन्न सहरमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा पाइने टिमुर त्यत्तिकै खेर जाने गरेको छ । टिमुरको महत्वबारे जानकारी नहुँदा त्यत्तिकै खेर जाने गरेको हो ।
घरायसी प्रयोजनका लागि कोही कसैले थोरै ल्याउने गरे पनि बिक्रीवितरणका लागि टिमुर कसैले नटिप्ने गरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय हिरा रोकायाले बताउनुभयो । “टिमुर गाउँमा बिक्री हुँदैन, बजारमा लिएर बेच्न रोक गरेको छ, उहाँले भन्नुभयो, “त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यो त्यत्तिकै खेर जाने गरेको छ ।”
सहरबजारमा टिमुरको माग बढेपछि केही स्थानीयले यसको व्यावसायिक खेती सुरु गरेका छन् । टिमुर अचार तथा औषधीका रूपमा प्रयोग हुँदै आएको छ । स्थानीय निकायले पनि टिमुरको व्यावसायिक खेतीतर्फ चासो देखाएको छ ।
वनको टिमुर टिपेर बजारमा लैजानुभन्दा व्यावसायिक खेती गर्दा फाइदा हुने देखिन्छ । गौमूल गाउँपालिका–२ का स्थानीय किसानले टिमुर खेती सुरु गरेको वडाध्यक्ष देव रोकायाले बताउनुभयो । “टिमुरको विभिन्न ठाउँबाट माग आउने गरेकाले यहाँका स्थानीयलाई यसको खेती गर्नमा उत्प्रेरित गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।
टिमुर दुईदेखि तीन मिटरभन्दा अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको पतझड वनस्पति हो । बाजुराको बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहको विभिन्न वनमा प्रशस्त मात्रामा टिमुर पाइन्छ । लेकाली ठाउँको ११ देखि २५ सय मिटरसम्मको उचाइमा टिमुर फल्ने गरेको पाइन्छ ।
एउटा परिपक्व बोटमा दुईदेखि चार किलोसम्म टिमुर फल्ने बताइन्छ । प्रतिकिलो दुईदेखि तीन सय रुपियाँमा बिक्री हुने गर्छ । आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजीर्ण र हैजा इत्यादि रोग निको पार्न प्रयोग गरिन्छ । हिउँदको महिना रुघाखोकी लागेका बेला तातोपानीसँगै टिमुरको धुलो हालेर खाँदा रुघाखोकी निको हुने गर्छ । टिमुर १० केजीसम्म व्यक्तिगत प्रयोजन गर्न पाइने डिभिजन वन कार्यालयका प्रमुख भोजराज पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “टिमुर खरिदबिक्री तथा सङ्कलन गर्न इजाजत हुनु पर्छ ।” इजाजत तथा राजस्व तिरेको कागजात भएपछि देशका विभिन्न ठाउँमा टिमुर खरिदबिक्री गर्न सकिने डिभिजन वन कार्यालय प्रमुख पाठकले बताउनुभयो ।