• २० वैशाख २०८१, बिहिबार

भाषा, संस्कृतिको प्रवर्धन प्राथमिकतामा : मन्त्री जोशी

blog

काठमाडौँ, चैत २७ गते । भाषा, साहित्य र संस्कृति मानव समाजका अभिन्न अङ्ग भएकाले तिनको संरक्षण र प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताइएको छ ।  

सोमबार बझाङी समाज काठमाडौँ सांस्कृतिक साँझ कार्यक्रममा उद्घाटन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भाषा, साहित्य र संस्कृतिबिना मानव समाज गतिशील हुन नसक्ने भएकाले यसको संरक्षण र प्रवर्धनका लागि सबैले आआफ्नो तहबाट सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपाली समाज विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको एक थुङ्गा हो । यहाँ सबैले सबैको भाषा, संस्कृतिको अस्तित्व स्वीकार गर्दै मानसम्मान गर्ने परिपाटीलाई अझ बलियो बनाउन आवश्यक छ । त्यसका लागि समाजका प्रबुद्ध वर्गको महत्वपूर्ण भूमिका रहन्छ ।” 

मन्त्री जोशीले भन्नुभयो, “सबै भाषाभाषी, साहित्य, संस्कृतिको विकास र प्रवर्धन गर्ने कामलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । सबै भाषा, साहित्य र संस्कृतिको विकासले मात्र मुलुकको समग्र विकास हुने कुरालाई सरकारले आत्मसात् गर्दै आइरहेको छ ।” 

मन्त्री जोशीले सुदूरपश्चिम प्रदेशमा मनाइने नयाँ वर्ष (बिसुपर्व) ले समाजलाई विभक्त नहुन दिनका लागि एकताको सूत्राधारको काम गरिरहेको बताउँदै बिसु जस्ता पर्वको सांस्कृतिक महत्वलाई पछिल्लो पुस्तासम्म पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा. पदमबहादुर खड्काले सुदूरपश्चिम प्रदेशमा मनाइने बिसुपर्व सामाजिक सद्भाव र एकताको पर्व भएकाले यसको प्रवर्धनतर्फ तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

डा. खड्काले भन्नुभयो, “संस्कार र संस्कृति समयसापेक्ष रूपमा पुस्तान्तरण गर्दै लैजान सकिएन भने परम्परा लोप हुँदै जाने समाजका सचेत वर्गले सधैँ सजग हुनु जरुरी छ ।” कार्यक्रममा सामाजिक अभियन्ता मीनबहादुर सिंहले पछिल्ला दिनमा भाषा, साहित्य र संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पछिल्लो पुस्तालाई चाडपर्व, संस्कारबारे सिकाउने कर्तव्य अघिल्लो पुस्ताको भएकामा जोड दिनुभयो । 

कार्यक्रममा वरिष्ठ कलाकार चेतबहादुर सिंह, नन्दकुमार खड्कालगायतले संस्कृतिको संरक्षणमा सरकारले खासै ध्यान दिन नसक्दा पछिल्ला पुस्ताले परम्परा, लोक संस्कृतिबारे ज्ञान लिन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा विभिन्न कलाकारले सुदूरपश्चिममा बिसुपर्वमा गाइने लोक डेउडालगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए ।