• २० वैशाख २०८१, बिहिबार

विश्वविद्यालयको पूर्वाधार निर्माणमा सरकारले पहल गर्छ : मुख्यमन्त्री

blog

विश्वविद्यालय स्थापना दिवस् समारोहका सहभागी । तस्विरः दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम 

वीरगञ्ज, चैत २५ गते । मधेश प्रदेशका मुख्यमन्त्री तथा मधेश विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ । 

मधेस विश्वविद्यालयले आइतबार वीरगञ्जमा आयोजना गरेको नेपालको पहिलो विश्वविद्यालयको परिकल्पना नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालय स्थापनाको स्मरण गर्दै आयोजना गरेकोे स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री तथा मधेश विश्वविद्यालयका कुलपति यादवले विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिनुभयो । 

आफ्नो भौतिक पूर्वाधार नभएकाले मधेस विश्वविद्यालयको मुख्य कार्यालय तथा सञ्चालनमा आएका कक्षाहरु बिघटित सरकारी संस्था साल्टट्रेडिङको वीरगञ्जस्थित कार्यालयमा रहेको छ । 

कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेश विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन मधेश प्रदेश सरकारको ठूलो उपलब्धी भएको धारणा राख्नुभयो । 

त्यस्तैगरी पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेस विश्वविद्यालय मधेस आन्दोलनको उपलब्धि भएको बताउँदै पहिले वीरगञ्ज विश्वविद्यालय स्थापनाका लागि संकलन गरिएको ६ करोडभन्दा बढी रकम बैंकमा मौज्दात रहेकाले त्यसलाई ठाकुरराम बहुमुखी क्याम्पसको जिर्ण भएको छात्रावास निर्माणमा खर्च गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्यले कार्यपत्र प्रस्तुत गर्नु हुदै वि.सं. २००७ सालमा राणाशासनको अन्त्यपछि वीरगञ्जमा उच्च शिक्षाको लागि महाविद्यालयको आवश्यकता महशुस गरेर वीरगञ्जमै विश्विद्यालय स्थापनामा स्थानीय अग्रसर भएको पाइएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका शिक्षा तथा सामाजिक विकास मन्त्री एवं मधेस विश्वविद्यालयका सहकुलपति प्रमोद जयसवाल, पूर्वमन्त्री नागेन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण विश्वविद्यालयका रजिष्ट्रार विजय यादवले गर्नुभएको थियो ।