• १३ साउन २०८१, आइतबार

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

blog

गोदावरी (कैलाली),  चैत २५ गते । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु. एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो ।  गौशालामा सात जनाले  रोजगारी पनि पाएका छन् । 

विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको  गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो ।

धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताउनुभयो ।

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक रु. ६७ हजार पाँच सय गोबर बिक्रीबाट मासिक रु. ५० हजार र गौदानबाट रु. २५ हजार आम्दानी भइरहेको छ । सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उहाँले बताउनुभयो ।

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए । चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ । गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट रु. ४० लाख, धनगढी उपमहानगरपालिकाबाट रु. १० लाख र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट रु. आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ ।  रासस